राष्ट्रपतिबाट चार महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, कार्यान्वयनको बाटो खुला
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भएका चार महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम बिहीबार ती विधेयक प्रमाणीकरण गरेका हुन्।
प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार संघीय संसद्बाट पारित भएका यी विधेयक बिहीबार नै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएको थियो।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब यी विधेयक कानुनका रूपमा कार्यान्वयनमा जाने बाटो खुलेको छ।
यी संशोधनमार्फत सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने, सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणलाई सुदृढ गर्ने, सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानुनी आधार बलियो बनाउने तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने अपेक्षा गरिएको छ।
