रविमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज
काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहित सहकारी ठगी प्रकरणका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरेको छ।
न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् कायम रहने गरी मुद्दा संशोधन गर्ने आदेश दिएको हो। अदालतले ठगीसम्बन्धी मुद्दाको सुनुवाइ जारी रहने तर संगठित अपराध र सम्पत्ति शुद्धीकरणतर्फको अभियोग दाबी कायम नरहने निष्कर्ष निकालेको छ।
अदालतको आदेशअनुसार सहकारीका बचतकर्ताहरूले दायर गरेको जाहेरीमा समेत प्रतिवादीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मागदाबी नरहेको उल्लेख गरिएको छ। साथै, मुद्दा संशोधन भएपछि पनि बचतकर्ताहरूको मागअनुसार सहकारी ठगीसम्बन्धी अभियोग कायम रहने देखिएकाले सोहीअनुसार आदेश गरिएको जनाइएको छ।
आदेशमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कायम रहँदा मिलापत्रको सम्भावना प्रभावित हुने तथा पीडितहरूले बिगो रकम फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न सक्ने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
अदालतको यो निर्णयसँगै रवि लामिछानेसहितका प्रतिवादीहरू अब सहकारी ठगीसम्बन्धी मुद्दाको प्रतिरक्षामा केन्द्रित हुने भएका छन् भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपबाट तत्कालका लागि मुक्त भएका छन्।
