योग्य पदाधिकारी नियुक्त गर्न सरकारलाई डा. गोविन्द केसीको अल्टिमेटम
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा लामो समयदेखि रिक्त रहेका पदाधिकारी तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका छन्। उनले आयोगलाई नेतृत्वविहीन राखेर यसको प्रभावकारिता कमजोर पार्ने प्रयास भइरहेको आरोप समेत लगाएका छन्।
सोमबार जारी विज्ञप्तिमार्फत डा. केसीले आयोगका पदाधिकारी छनोटका लागि अन्तर्वार्ता सम्पन्न भएको लामो समय बितिसक्दा पनि नियुक्ति प्रक्रिया अघि नबढाइएकोप्रति आपत्ति जनाएका हुन्। अन्य सरकारी निकायमा नियुक्ति भइसके पनि चिकित्सा शिक्षा आयोगलाई नेतृत्वविहीन राख्नुले सरकारको नियतमाथि नै शंका उत्पन्न गरेको उनको भनाइ छ।
उनले आयोगमा अयोग्य तथा स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गरेर चिकित्सा शिक्षा ऐन र आयोगकै अस्तित्व कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए। निजी क्षेत्र वा राजनीतिक स्वार्थसँग असम्बद्ध, योग्य, सक्षम र निष्पक्ष व्यक्तिलाई मात्रै नियुक्त गर्न उनले सरकारसँग आग्रह गरेका छन्।
डा. केसीले वर्तमान सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई थप महँगो र गुणस्तरहीन बनाउने दिशामा काम गरिरहेको आरोप पनि लगाए। अमेरिका जस्ता पुँजीवादी मुलुकमा समेत शिक्षा र स्वास्थ्यलाई गैरनाफामूलक क्षेत्रका रूपमा हेरिने उल्लेख गर्दै उनले नियामक निकायलाई कमजोर बनाएर माफियाकरणलाई प्रोत्साहन गर्न खोजिए कडा प्रतिरोध गरिने चेतावनी दिए।
उनले असार २४ गतेभित्र चिकित्सा शिक्षा आयोगमा योग्य पदाधिकारी नियुक्त नगरे असार २५ गतेदेखि विगतका मागसहित पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्।
