युद्धविराम उल्लंघनको आरोपपछि अमेरिकाद्वारा इरानमा हवाई आक्रमण, दुवै पक्षबीच आरोप–प्रत्यारोप

khabarwave
१३ असार २०८३

अमेरिकाले दक्षिणी इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। दुई देशबीच युद्धविराम कार्यान्वयन र अन्तिम सम्झौताबारे वार्ता भइरहेका बेला भएको उक्त आक्रमणपछि क्षेत्रीय तनाव पुनः चर्किएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानले युद्धविराम उल्लंघन गर्दै हर्मुज जलडमरूमध्यमा एक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि जवाफी कारबाही गरिएको जनाएको छ।

सेन्टकमका अनुसार अमेरिकी लडाकु विमानहरूले इरानका क्षेप्यास्त्र तथा ड्रोन भण्डारण केन्द्र, तटीय रडार प्रणाली र अन्य सैन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेका हुन्। अभियान सफलतापूर्वक सम्पन्न भएको दाबी गर्दै सेन्टकमले हर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा सुनिश्चित गर्न अमेरिकी सेना प्रतिबद्ध रहेको जनाएको छ।

सेन्टकमले जारी गरेको वक्तव्यमा व्यावसायिक जहाजमाथिको इरानी आक्रमणलाई युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन भएको उल्लेख गर्दै त्यसको जवाफस्वरूप सैन्य कारबाही गरिएको बताएको छ।

यता, इरानले दक्षिणी बन्दरगाह सिरिक आसपास अमेरिकी आक्रमण भएको पुष्टि गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्रमा विस्फोटको आवाज सुनिएको र क्षेप्यास्त्र प्रहार भएको पुष्टि भएको हो।

इरानी सैन्य स्रोतले हर्मुज जलमार्गमा नियम उल्लंघन गरेको आरोप लगाइएका केही जहाजतर्फ सुरुमा चेतावनीस्वरूप गोली र दुईवटा चेतावनी क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ।

यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले अमेरिकी सैन्य उपस्थिति रहेका क्षेत्रलाई लक्षित गरी आफ्ना नौसैनिक बलले प्रतिकारात्मक कारबाही गरेको जनाएको छ। आईआरजीसीले अमेरिका पुनः आक्रमणमा उत्रिए आफ्नो प्रतिक्रिया अझ कडा हुने चेतावनी दिएको छ।

आईआरजीसीले युद्धविराम सम्झौताअनुसार हर्मुज जलडमरूमध्यमा जहाज आवागमनको नियन्त्रण इरानको जिम्मामा रहेको दाबी गर्दै अमेरिका उक्त प्रतिबद्धता कमजोर पार्न विभिन्न गतिविधि गरिरहेको आरोप लगाएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानले नै युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकाले सम्झौताका सबै प्रावधान पालना गरेको उल्लेख गर्दै असहमति भए वार्ताबाट समाधान खोज्नुपर्ने, तर हिंसात्मक गतिविधिको जवाफ दिइने बताएका छन्।

उता, इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष इब्राहिम अजीजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम र वार्ताप्रति प्रतिबद्धता नदेखाएको आरोप लगाएका छन्। उनले युद्धविराम उल्लंघनको परिणाम अन्ततः अमेरिकाकै लागि प्रतिकूल हुने दाबी गरेका छन्।

Loading spinner