महाधिवेशन तयारी तीव्र बनाउन राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन, विभिन्न समिति सक्रिय

khabarwave
२२ श्रावण २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारी तीव्र बनाउन निर्देशन दिएका छन्।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन तयारीका लागि गठन गरेका विभिन्न समितिका संयोजकहरूसँग बिहीबार छलफल गर्दै अध्यक्ष लिङ्देनले समितिहरूलाई तत्काल पूर्णता दिन र विस्तृत कार्ययोजना बनाएर काम अघि बढाउन आग्रह गरेका हुन्।

“आ–आफ्नो समितिलाई पूर्णता दिएर विस्तृत कार्ययोजना तयार पार्नुस् र अविलम्ब काम सुरु गर्नुस्,” अध्यक्ष लिङ्देनको निर्देशन उद्धृत गर्दै पार्टीले जनाएको छ।

राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म आफ्नो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।

महाधिवेशनका लागि गठन भए विभिन्न समिति

महाधिवेशन तयारीका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ।

यस्तै,

उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति,
उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति,
उपाध्यक्ष हेमजङ गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ।

त्यसैगरी,

महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति,
महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति,
कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति र
गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति गठन गरिएको छ।

यसका अतिरिक्त,

कार्यसम्पादन समिति सदस्य विष्णु भण्डारीको नेतृत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति,
प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति,
केन्द्रीय सदस्य दीपक रञ्जितको नेतृत्वमा शान्ति सुरक्षा तथा व्यवस्थापन समिति,
केन्द्रीय सदस्य सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति,
केन्द्रीय सदस्य ध्रुवविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिलाई भने स्वागतद्वार व्यवस्थापनको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

राप्रपाले महाधिवेशनको तयारीलाई समयमै सम्पन्न गर्न सबै समितिलाई सक्रिय रूपमा परिचालन गर्ने जनाएको छ।

Loading spinner