भूमि प्रशासनका फारम सरल बनाउन समिति गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने

khabarwave
२१ श्रावण २०८३

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल, स्पष्ट र सेवाग्राहीमैत्री बनाउन पाँच सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागको जग्गा प्रशासन शाखाका प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा समिति गठन गरेको जनाएको छ। समितिलाई हाल प्रयोगमा रहेका सबै लिखित फारमको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैं भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको छ।

समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्नेछ।

मन्त्रालयका अनुसार हाल भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने धेरै सेवाग्राहीले फारम भर्न अरूको सहयोग लिनुपर्ने अवस्था रहेकाले त्यसलाई अन्त्य गर्ने उद्देश्यले समिति गठन गरिएको हो।

समितिको प्रतिवेदन प्राप्त भएपछि सरलीकृत फारमहरू कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीले बिचौलियाको सहारा नलिई आफैं आवश्यक विवरण भरेर सेवा लिन सक्ने अपेक्षा गरिएको छ।

Loading spinner