बालेनसँगको दूरी घटाउने प्रयास

khabarwave
५ श्रावण २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकको धुलिखेलस्थित एक रिसोर्टमा भएको लामो भेटवार्ताले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु गरेको छ। दुई नेताले करिब २४ घण्टा सँगै बिताएर सरकार, पार्टी र समसामयिक राजनीतिक विषयमा छलफल गरेको स्रोतहरूले बताएका छन्।

स्रोतका अनुसार भेटवार्ताको मुख्य केन्द्र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र अर्थमन्त्री वाग्लेबीच पछिल्लो समय देखिएको समन्वय अभाव तथा सरकार सञ्चालनका विषय थिए।

पछिल्ला दिनमा बजेट निर्माण, कर नीतिमा गरिएको हेरफेर तथा अर्थ मन्त्रालयका केही निर्णयमा प्रधानमन्त्रीसँग पर्याप्त समन्वय नभएको विषयलाई लिएर सरकारभित्र असन्तुष्टि देखिएको चर्चा हुँदै आएको छ। उद्योगी–व्यवसायीसँगको छलफल, करसम्बन्धी निर्णय र धितोपत्र बजारका विषयमा पनि प्रधानमन्त्रीले चासो व्यक्त गरेको बताइन्छ।

यही पृष्ठभूमिमा सभापति लामिछानेले अर्थमन्त्री वाग्लेसँग विस्तृत छलफल गर्दै सरकारभित्र सहकार्य र समन्वयलाई प्राथमिकता दिन सुझाव दिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार लामिछानेले प्रधानमन्त्रीले अर्थमन्त्रीको केही निर्णय र कार्यशैलीबारे असन्तुष्टि व्यक्त गरे पनि उनलाई हटाउने कुनै योजना नरहेको स्पष्ट पारेका थिए। महत्त्वपूर्ण नीतिगत निर्णय अघि बढाउँदा प्रधानमन्त्रीसँग नियमित परामर्श र समन्वय गर्नुपर्ने सुझाव उनले वाग्लेलाई दिएका थिए।

जवाफमा अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयका कतिपय विषय तत्काल निर्णय लिनुपर्ने प्रकृतिका हुने भएकाले सबै निर्णयमा पूर्वसमन्वय सम्भव नहुने बताए पनि सरकारभित्र थप सहकार्य आवश्यक रहेको स्वीकार गरेका थिए। उनले सरकारको कार्यकाल सफल बनाउन आफू प्रतिबद्ध रहेको र पार्टी तथा संस्थाको हितलाई केन्द्रमा राखेर काम गरिरहेको धारणा राखेको स्रोतले जनाएको छ।

भेटका क्रममा सरकारको भविष्य, पार्टी संगठन, आगामी राजनीतिक रणनीति तथा रास्वपाको आन्तरिक व्यवस्थापनबारे समेत सामान्य छलफल भएको बताइएको छ।

पछिल्ला दिनमा प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच सम्बन्ध चिसिएको तथा अर्थमन्त्री परिवर्तन हुन सक्ने चर्चा सार्वजनिक भए पनि सरकारनिकट स्रोतहरूले त्यसलाई अस्वीकार गरेका छन्। प्रधानमन्त्रीले अर्थमन्त्रीलाई तत्काल हटाउने कुनै तयारी नरहेको र दुवैबीच समन्वय सुधारमा जोड दिइएको उनीहरूको भनाइ छ।

रास्वपाभित्र सरकार र पार्टी दुवैलाई सन्तुलित रूपमा अघि बढाउन शीर्ष नेतृत्वबीच निरन्तर संवाद आवश्यक रहेको निष्कर्षसहित काभ्रे भेट सम्पन्न भएको स्रोतले जनाएको छ।

Loading spinner