प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न सक्दैन : गगन थापा

khabarwave
३० असार २०८३

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक समाजमा प्रश्न गर्ने अधिकार र त्यसका लागि आवश्यक हिम्मत कसैले पनि खोस्न नसक्ने बताएका छन्।

सोमबार आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले सरकार आफैं प्रश्न उठाउनेहरूको आवाज दबाउने प्रयासमा लागेको आरोप लगाए। आफ्नै पुरानो घर रहेको रातोपुल क्षेत्रमा समेत शंकास्पद रूपमा सवारीसाधन राखिएको जानकारी आफूले पाएको उल्लेख गर्दै उनले यस्ता घटनाप्रति गम्भीर ध्यान दिनुपर्ने बताए।

‘सरकार आफैं प्रश्न गर्नेहरूको मुख बन्द गर्न अग्रसर भएको देखिन्छ। यो अत्यन्त चिन्ताजनक विषय हो,’ थापाले भने, ‘यी गतिविधिले कसैको प्रश्न गर्ने अधिकार वा हिम्मत खोस्न सक्दैन। हाम्रो अधिकार पनि कसैले खोसेर खोसिँदैन।’

थापाले यस्ता प्रवृत्तिका कारण विगतमा राजनीतिक दलहरूले जनविश्वास गुमाएको स्मरण गर्दै अहिले पनि त्यही शैली दोहोरिनु गम्भीर चिन्ताको विषय भएको बताए।

उनले यस्ता घटनाको गम्भीर समीक्षा गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।

Loading spinner