प्रलोपा औपचारिक रूपमा विभाजित

khabarwave
२१ श्रावण २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वरास्वपा नेता सन्तोष परियारसहितका नेताहरूको पहलमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रूपमा विभाजित भएको छ।

पार्टीभित्र लामो समयदेखि देखिएको वैचारिक, राजनीतिक र सांगठनिक मतभेद समाधान हुन नसकेपछि अध्यक्ष परिषद्का सदस्यद्वय दुर्गा सोब र सन्तोष परियारले आपसी सहमतिमै अलग-अलग राजनीतिक यात्रा तय गर्ने निर्णय गरेका हुन्।

दुवै नेताबीच भएको सहमतिअनुसार दुर्गा सोब नेतृत्वको समूहले साविकको ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ पुनः सक्रिय बनाउने भएको छ। उक्त समूहले पार्टीको पुरानै नाम, सांगठनिक संरचना र ‘आँखा’ निर्वाचन चिह्न कायम राख्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ।

यता सन्तोष परियार नेतृत्वको समूहले भने ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)’ नामलाई नै निरन्तरता दिने निर्णय गरेको छ। यो पक्षले ‘आँखा’ बाहेकको नयाँ निर्वाचन चिह्न र तीन रङको झण्डा प्रयोग गर्दै कानुनी प्रक्रिया पूरा गर्ने सहमति गरेको छ।

यसअघि नै पूर्वमन्त्री सुदन किराँती र ओजस्वी भट्टराईलगायतका नेताहरू पार्टीबाट अलग भइसकेका थिए। पछिल्लो सहमतिसँगै प्रलोपाको विभाजन औपचारिक बनेको हो।

सम्झौताअनुसार अब दुवै पक्षले आ–आफ्नो पार्टीको नाम, विधान, निर्वाचन चिह्न र सांगठनिक संरचनाअनुसार स्वतन्त्र रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्नेछन्।

Loading spinner