प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीबीच रास्वपा सभापति रवि लामिछाने चीन जाने

khabarwave
८ श्रावण २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादलाई अघि बढाउने तयारी गरिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन्।

स्रोतका अनुसार लामिछानेले अगस्टको दोस्रो साता (साउन अन्त्यतिर) पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँचदिने बेइजिङ भ्रमण गर्ने तयारी गरेका छन्। भ्रमणलाई रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीचको ‘पार्टी-टु-पार्टी’ सम्बन्ध सुदृढ गर्ने उद्देश्यसँग जोडिएको बताइएको छ।

चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता

रास्वपा निकट स्रोतका अनुसार भ्रमणका क्रममा लामिछानेले चिनियाँ विदेशमन्त्री वाङ यी तथा सिपिसीका वरिष्ठ नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा सरकारी प्रतिनिधिको सहभागिता भने नहुने जनाइएको छ।

यसअघि जेठको तेस्रो साता लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा गएका थिए। त्यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए।

रास्वपा स्रोतले भारत भ्रमणमा जस्तै चीन भ्रमणमा पनि उच्चस्तरीय राजनीतिक भेटघाट हुने र नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित हुने जनाएको छ।

प्रधानमन्त्रीको भारत केन्द्रित कूटनीतिक पहल

यता, प्रधानमन्त्री बालेन्द्र शाह भारतसँगको सम्बन्धलाई थप सक्रिय बनाउने तयारीमा छन्। उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले हालै नयाँदिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे छलफल भएको स्रोतको दाबी छ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै भारत भ्रमण गर्ने तयारीमा रहेको बताइन्छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि साउन महिनाभित्र नेपाल भ्रमणमा आउन सक्ने चर्चा चलिरहेको छ।

छिमेकी सम्बन्धमा नयाँ रणनीति

प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि केही समय विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेटघाट नगर्ने नीति अपनाएका थिए। तर पछिल्लो समय सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई थप सक्रिय बनाउने संकेत दिएको देखिन्छ।

राजनीतिक वृत्तमा भारतसँगको सम्बन्ध सुधारका लागि सरकार सक्रिय भएका बेला रास्वपा सभापति लामिछानेको चीन भ्रमणलाई पनि नेपालको छिमेकी कूटनीतिमा अर्को महत्वपूर्ण गतिविधिका रूपमा हेरिएको छ।

Loading spinner