देउवाका पुराना विश्वासपात्रहरू गगन थापातर्फ, कांग्रेसमा नयाँ ध्रुवीकरण तीव्र

देउवाका पुराना विश्वासपात्रहरू गगन थापातर्फ, कांग्रेसमा नयाँ ध्रुवीकरण तीव्र

khabarwave
१८ असार २०८३

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका लामो समयदेखि निकट मानिएका नेताहरू क्रमशः सभापति गगनकुमार थापाको पक्षमा उभिन थालेका छन्। पछिल्लो समय कांग्रेसभित्र देखिएको शक्ति सन्तुलनसँगै संस्थापन पक्षका पुराना नेताहरूले सार्वजनिक रूपमा देउवा नेतृत्वको आलोचना गर्न थालेका हुन्।

मंगलबार लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले तीन दशकभन्दा बढी समय देउवासँग राजनीतिक सहयात्रा गरे पनि त्यसबाट आफूले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे। उनले ‘अब सके राजनीति गर्छु, नसके आलु खेती गर्छु, तर कांग्रेस छाड्दिनँ’ भन्दै अब गगन थापाको नेतृत्वमा रहेर पार्टीभित्रै संघर्ष गर्ने घोषणा गरे।

राठौरले पार्टीका नेता–कार्यकर्तालाई क्रियाशील सदस्यता अद्यावधिक गर्नसमेत आग्रह गरे। कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै उनले संगठन सुदृढीकरणमा जोड दिएका थिए।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लामो समय पार्टीमा योगदान गरेका धेरै नेता–कार्यकर्ताले क्षमता अनुसार अवसर नपाएकाले उनीहरूमा असन्तुष्टि देखिएको बताए। उनले प्रदेशमा डिजिटल क्रियाशील सदस्यता अद्यावधिक अभियान प्रभावकारी रूपमा अघि बढिरहेको पनि जानकारी दिए।

राठौर मात्र होइन, देउवालाई पटक–पटक प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ नेता गोपालमान श्रेष्ठ पनि पछिल्लो समय गगन थापाको पक्षमा खुलेका छन्। उनले विशेष महाधिवेशनकै क्रममा देउवा नेतृत्वको शैलीप्रति असन्तुष्टि जनाउँदै गगन–विश्वप्रकाश नेतृत्वलाई साथ दिने निर्णय गरेको बताएका थिए।

त्यसैगरी, पूर्वराज्यमन्त्री तथा कांग्रेसका पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठ पनि अहिले गगन थापाको नेतृत्वसँग निकट देखिएका छन्। विशेष महाधिवेशनपछि उनी पुनः कोषाध्यक्षको जिम्मेवारीमा दोहोरिएका छन्।

कांग्रेसभित्रको ध्रुवीकरणमा शेखर कोइराला समूहका नेताहरूको समेत पुनःसंरेखण देखिन थालेको छ। पूर्वसहमहामन्त्री जीवन परियार, नेता डा. मीनेन्द्र रिजाललगायत नेताहरू पनि वर्तमान नेतृत्वसँग सहकार्यको पक्षमा देखिएका छन्। यस्तै, शेखर कोइरालाका भाइ शंशाक कोइरालाले समेत सार्वजनिक रूपमा सभापति थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।

पछिल्ला घटनाक्रमले नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लक्षित गर्दै शक्ति सन्तुलन फेरिँदै गएको संकेत गरेको छ। देउवा निकट मानिएका प्रभावशाली नेताहरूको एकपछि अर्को रूपमा वर्तमान नेतृत्वतर्फको झुकावले पार्टीभित्र नयाँ राजनीतिक समीकरण निर्माण हुने आकलन गरिएको छ।

Loading spinner