देउवा नेपाल फर्किँदै, कांग्रेसभित्र शक्ति प्रदर्शनको तयारी

khabarwave
२७ श्रावण २०८३

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भदौ २८ गते नेपाल फर्किने भएका छन्। नेपाल फर्किएपछि उनले कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारी छ।

देउवाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा समर्थक उतार्ने तयारी भइरहेको छ। भदौ २९ देखि ३१ गतेसम्म हुने भेलालाई देउवा पक्षले शक्ति प्रदर्शनका रूपमा अघि बढाउने तयारी गरेको बताइएको छ।

देउवा विदेशमा रहेका बेला उनी र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको चर्चा छ। नेपाल फर्किएपछि कानुनी प्रक्रिया अघि बढ्न सक्ने विषयमा समेत राजनीतिक वृत्तमा बहस भइरहेको छ। यद्यपि, सम्बन्धित निकायले देउवालाई पक्राउ गर्नेबारे औपचारिक जानकारी दिएको छैन।

देउवाले यसअघि आफू नेपाल फर्किने संकेत गर्दै न्याय र कानुनी प्रक्रियामाथि विश्वास रहेको बताएका थिए। सरकारबाट प्रतिशोधपूर्ण व्यवहार भए त्यसको सामना गर्न तयार रहेको सन्देशसमेत उनले दिएका थिए।

देउवा लामो समयदेखि विदेशमा रहेका कारण कांग्रेसभित्र उनको राजनीतिक भूमिकालाई लिएर पनि चासो बढेको छ। विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेपछि देउवा पार्टी नेतृत्वबाट बाहिरिएका छन्। तर देउवा पक्षले थापालाई अझै पूर्ण रूपमा सभापतिको रूपमा स्वीकार नगरेको देखिन्छ।

यसैबीच कांग्रेस नेता शशांक कोइरालाले सभापति गगन थापालाई पत्र पठाउँदै सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दाको अन्तिम फैसला नआएसम्म महाधिवेशनलगायतका गतिविधि रोक्न आग्रह गरेका छन्। यसले कांग्रेसभित्रको नेतृत्व विवाद थप पेचिलो बनेको संकेत गरेको छ।

देउवाले राष्ट्रिय भेलामा पार्टीको आन्तरिक विवाद, आगामी महाधिवेशन, पछिल्लो राजनीतिक परिवर्तन र कांग्रेसको आगामी रणनीतिबारे धारणा राख्ने तयारी गरेको नेताहरूले बताएका छन्।

देउवा पक्षका नेताहरू पार्टी विभाजनको पक्षमा नरहेको दाबी गर्दै आएका छन्। उनीहरूले पार्टी एकताका लागि गगन थापा पक्ष पनि लचिलो हुनुपर्ने बताउँदै आएका छन्।

यसकारण लामो समयपछि नेपाल फर्किन लागेका देउवाको सम्बोधनलाई कांग्रेसभित्रको आगामी शक्ति समीकरण र नेतृत्व विवादको दिशाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

Loading spinner