दूतावास र महावाणिज्य दूतावासको संख्या घटाउने तयारी

khabarwave
१९ बैशाख २०८३

सरकारले विदेशस्थित दूतावास र महावाणिज्य दूतावासको संख्या घटाउने तयारी सुरु गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयको समग्र पुनर्संरचनाबारे कूटनीतिज्ञहरूसँग परामर्श लिइरहेका छन्।

परराष्ट्र मन्त्रालयभित्र दूतावास घटाउने र आवश्यक स्थानमा नयाँ खोल्ने विषयमा आन्तरिक छलफल भइरहेको छ। हाल नेपालका ३४ दूतावास र १० महावाणिज्य दूतावास गरी कुल ४४ वटा नियोग सञ्चालनमा छन्।

विगतमा राजनीतिक भागबण्डाका आधारमा राजदूत नियुक्त गर्न अनावश्यक रूपमा दूतावास खोलिएको निष्कर्षसहित करिब ८–१० वटा दूतावास खारेज गर्ने योजना बनाइएको छ। मन्त्रालय स्रोतका अनुसार विदेशस्थित नेपाली नियोगहरूको पुनरावलोकन गर्दै यस्तो खाका तयार पारिँदैछ।

यसै सन्दर्भमा मन्त्री खनालले पूर्वराजदूत विजयकान्त कर्ण र वरिष्ठ पत्रकार अजयभद्र खनालसँग पनि छलफल गरेका थिए। कर्णले मन्त्रालयको पुनर्संरचना आवश्यक रहेको बताउँदै केही देशमा रहेका दूतावास हटाएर नजिकका दूतावासबाट काम सञ्चालन गर्न सकिने सुझाव दिएका छन्। उनका अनुसार यसले खर्च घटाउन मद्दत गर्नेछ।

अनलाइन माध्यमबाट सेवा विस्तार भइरहेकाले कतिपय महावाणिज्य दूतावाससमेत घटाउन सकिने धारणा राखिएको छ। कर्णले २०–२२ देशमा मात्र दूतावास राखेर बाँकी नियोगको पुनरावलोकन गर्नुपर्ने बताएका छन्। साथै, विदेशी लगानी भित्र्याउने र नेपाली वस्तु निर्यात प्रवर्द्धन गर्ने सम्भावनालाई ध्यानमा राखेर मात्र दूतावास स्थापना गर्नुपर्ने उनको जोड छ।

भारतका प्रमुख सहरहरू—मुम्बई र बेङ्लोर—मा महावाणिज्य दूतावास आवश्यक रहेको सुझाव पनि दिइएको छ, जहाँ ठूलो संख्यामा नेपाली बसोबास गर्छन् र ती सहरहरू व्यवसायिक केन्द्रसमेत हुन्।

यससँगै सरकारले खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी पनि गरिरहेको छ। पहिलो पटक यस्तो प्रणाली लागू गर्न लागिएको हो। हाल विभिन्न १७ नियोगमा राजदूत पद रिक्त छन्, जसमध्ये केही दूतावास खारेज गर्ने तयारी समेत भइरहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार खुला प्रतिस्पर्धाका लागि उमेर, अनुभव र शैक्षिक योग्यता लगायतका मापदण्डसहित छिट्टै विज्ञापन गरिनेछ। प्रारम्भिक रूपमा करिब १४–१५ दूतावासका लागि मात्र राजदूत नियुक्ति प्रक्रिया अघि बढाइने सम्भावना रहेको छ।

Loading spinner