थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
जनकपुरधाम– सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालतबाट पाँच वर्ष कैद सजाय सुनाइएका एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
उच्च अदालतले जिल्ला अदालतको सफाइको फैसला उल्टाउँदै बुधबार कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि प्रहरीले बिहीबार महोत्तरीको गौशालाबाट उनलाई पक्राउ गरेको हो।
थमन विक मधेस आन्दोलनका क्रममा घाइते भएपछि एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल लैजाँदै गर्दा आन्दोलनकारीको समूहले एम्बुलेन्स रोकी उनीमाथि आक्रमण गरेको अभियोग छ। उक्त आक्रमणका कारण विकको मृत्यु भएको थियो।
राजनीतिमा मधेसवादी दलबाट सक्रिय रहेका कोइरी पछि नेकपा (एमाले) मा प्रवेश गरी सांसद बनेका थिए।
यसअघि जिल्ला अदालतले घटनामा संलग्न केही अभियुक्तलाई जन्मकैद र केहीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो भने कोइरीलाई सफाइ दिएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्टाउँदै उनलाई पाँच वर्ष कैदको सजाय सुनाएको हो।
उच्च अदालतले जन्मकैदको सजाय पाएका पूर्वप्रदेश राज्यमन्त्री अभिराम शर्मा, जलेश्वर अस्पतालका पूर्वअध्यक्ष धर्मेन्द्र राय, सुरेश पाण्डे, पूर्वनगरप्रमुख रामशंकर मिश्र र पवन कापरको हकमा फैसला संशोधन गर्दै पाँच वर्ष कैद सजाय तोकेको छ।
यस्तै, प्रदीप माझी, संजयकुमार साह र मोहन ठाकुरलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला भने उच्च अदालतले सदर गरेको छ।
