डा. गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढीमा, दुई उच्च अधिकारी थपिए
काठमाडौं । धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले थप दुई उच्च अधिकारीलाई धनगढी पठाएको छ।
प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरमार्फत आइतबार धनगढी पुगेका हुन्।
यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका छन्। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनमा उनी वार्ताको वातावरण बनाउन त्यहाँ पुगेका थिए।
शुक्रबार साँझ शिक्षा मन्त्री पोखरेलले डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसपछि वार्तामार्फत अनशनको सहमतिपूर्ण निकास खोज्ने उद्देश्यले सरकारी टोली परिचालन गरिएको हो।
सरकारी टोलीले आइतबार नै डा. केसीका प्रतिनिधिहरूसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवादमार्फत सत्याग्रहको समाधान खोज्ने प्रयास गरिरहेको जनाएको छ।
