चार महिनामै १५ सचिव बाहिरिँदै, मुख्यसचिवदेखि गृहसचिवसम्म रिक्त हुने
काठमाडौं । संघीय प्रशासनमा आगामी चार महिनाभित्र १५ जना सचिव सेवाबाट बाहिरिने भएका छन्। उमेर हद, पाँचवर्षे कार्यकाल तथा अनिवार्य अवकाशका कारण सचिवहरू क्रमशः पदमुक्त हुन लागेका हुन्।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चीरञ्जीवी चटौत ५८ वर्षे उमेर हद पूरा भएपछि अवकाशमा गइसकेका छन्। त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य पाँच वर्षे कार्यकाल पूरा गरेर पदबाट बाहिरिएकी छन्।
निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (जगेडा) का सचिव कृष्णहरि पुष्कर कर्ण पनि पाँच वर्षे कार्यकाल पूरा गरी सेवाबाट विदा भइसकेका छन्।
मुख्यसचिव सुमनराज अर्याल पनि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गइसकेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपालले पनि पाँच वर्षे कार्यकाल पूरा गरेका छन्।
अब साउन ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा पाँच वर्षे कार्यकाल पूरा गरी बाहिरिनेछन्। साउन ६ गते लोकनाथ पौड्याल उमेर हदका कारण अवकाशमा जानेछन् भने साउन १९ गते हरिप्रसाद मैनाली र साउन २४ गते गोविन्दप्रसाद शर्मा अनिवार्य अवकाशमा जाने कार्यतालिका रहेको छ।
भदौ महिनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (जगेडा) का सचिव डिल्लीराम शर्मा, गृह सचिव राजकुमार श्रेष्ठ र बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी पनि सेवाबाट बाहिरिनेछन्।
यस्तै, असोज महिनामा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सचिव रविलाल पन्थको कार्यकाल पनि समाप्त हुनेछ।
चार महिनाको अवधिमा ठूलो संख्यामा सचिव पद रिक्त हुने भएपछि संघीय प्रशासनमा नयाँ मुख्यसचिव चयन, सचिव पदमा बढुवा तथा मन्त्रालयहरूको जिम्मेवारी हेरफेरलाई लिएर सरकारी वृत्तमा चासो बढेको छ।
