इरानले वार्ता अस्वीकार गर्दा ट्रम्पको दाबी– ‘कुराकानी जारी छ, आक्रमण रोक्यौं’

khabarwave
१९ श्रावण २०८३

काठमाडौं । इरानले अमेरिकासँग कुनै औपचारिक वार्ता नभएको स्पष्ट पारे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच संवाद जारी रहेको दाबी गरेका छन्। साथै, मध्यपूर्वमा तनाव चर्किने जोखिमलाई ध्यानमा राख्दै इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण स्थगित गरिएको उनले बताएका छन्।

ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले गत सप्ताहन्तमा दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो सैन्य कारबाही गर्न आफू तयार रहेको तर इरान र मध्यपूर्वका सहयोगी राष्ट्रहरूबाट वार्तामा सकारात्मक प्रगति भएको जानकारी आएपछि आक्रमण रोकिएको बताए।

उनका अनुसार त्यसयता इरानसँग युद्ध अन्त्य गर्ने विषयमा पुनः संवाद सुरु भएको छ।

‘वार्ता भइरहेको छ,’ ट्रम्पले भने, ‘पहिलो चरणको सहमतिले स्ट्रेट अफ हर्मुज भोलिसम्म पूर्ण रूपमा खुल्नेछ। त्यसपछि दोस्रो चरणमा परमाणु निःशस्त्रीकरणका विषयमा छलफल हुनेछ, जसका लागि केही समय लाग्न सक्छ।’

तर इरानले भने ट्रम्पको दाबी अस्वीकार गरेको छ। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले हाल अमेरिकासँग कुनै वार्ता नभइरहेको स्पष्ट पारे।

उनका अनुसार इरानको ध्यान ओमानको मध्यस्थतामा हर्मुज जलडमरूमध्य हुँदै हुने अन्तर्राष्ट्रिय ढुवानीलाई सुरक्षित रूपमा पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित छ।

‘हाल हामी अमेरिकासँग कुनै पनि वार्ता गरिरहेका छैनौं। हाम्रो छलफल ओमानसँग हर्मुज हुँदै हुने ढुवानी सुरक्षित रूपमा पुनः सञ्चालन गर्ने समझदारीमा केन्द्रित छ,’ बघाईले बताएका छन्।

यद्यपि, बघाईको अभिव्यक्तिको केही घण्टापछि ट्रम्पले फेरि दुई देशबीच वार्ता जारी रहेको दाबी दोहोर्‍याए।

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प प्रशासनले इरानलाई अमेरिकी सर्त स्वीकार गर्न दबाब दिन इरानी पूर्वाधार र ऊर्जा केन्द्रमा सैन्य आक्रमणको विकल्पसमेत तयार पारेको थियो।

यसबीच साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गर्दै सम्भावित आक्रमणप्रति चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। कतार, संयुक्त अरब इमिरेट्स, टर्की र पाकिस्तानलगायत मुलुकहरूले पनि दुवै पक्षलाई तनाव कम गर्दै कूटनीतिक समाधान खोज्न आग्रह गरेका छन्।

इरानको ऊर्जा तथा पूर्वाधारमा आक्रमण भए क्षेत्रीय युद्ध थप चर्किने जोखिम बढ्ने आकलनपछि ट्रम्पले हाललाई सैन्य कारबाही स्थगित गरेको बताएका छन्। तर वार्ताको अवस्थाबारे अमेरिका र इरानले सार्वजनिक रूपमा फरक–फरक दाबी गरिरहेका छन्।

Loading spinner