ग्यास अभाव पूर्ण रूपमा सहज हुन एक महिना लाग्ने

khabarwave
२७ श्रावण २०८३

काठमाडौँ उपत्यकासहित देशभर देखिएको एलपी ग्यासको अभाव बिस्तारै कम हुँदै गए पनि बजार पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन करिब एक महिना लाग्ने व्यवसायी तथा नेपाल आयल निगमले बताएका छन्।

ग्यास डिपोमा बिहानैदेखि लामो लाइन लाग्ने समस्या अझै कायम छ। आपूर्ति बढ्न थाले पनि विगत दुई महिनामा करिब ३० हजार मेट्रिक टन ग्यास कम आयात भएकाले अहिले खाली सिलिन्डरहरू पुनः भर्न समय लाग्ने बताइएको छ।

पश्चिम एसियामा बढेको द्वन्द्वका कारण आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर अर्थात् ७.१ किलो ग्यास मात्र बिक्री गर्ने व्यवस्था गरेको थियो। त्यसबाट सीमित ग्यास धेरै उपभोक्तासम्म पुर्‍याउन सहज भएको थियो।

तर आयातमा सुधार आएपछि निगमले असार ३१ गतेदेखि पुनः १४.२ किलोको पूर्ण सिलिन्डर बिक्री खुला गर्‍यो। लामो समय अभाव झेलेका उपभोक्ताले एकैपटक ठूलो परिमाणमा ग्यास खरिद गर्न थालेपछि बजारमा माग बढ्यो र वितरण प्रणालीमा पुनः चाप परेको व्यवसायीहरूको भनाइ छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार अबको दुई–तीन दिनमा आपूर्ति केही सहज हुने भए पनि बजार पूर्ण रूपमा सामान्य हुन करिब एक महिना लाग्नेछ।

भारतबाट ग्यास बुलेट आउने क्रम पनि बढेको छ। सोमबार करिब ११५ देखि १२५ वटा बुलेट नेपाल भित्रिएको र मंगलबार वीरगञ्ज नाकाबाट ९० देखि ९५ वटा बुलेट आउने क्रममा रहेको चन्दले बताए।

भारतको बरौनी रिफाइनरीमा मर्मतका कारण आपूर्ति प्रभावित भए पनि अहिले त्यहाँबाट ग्यास लोड हुने क्रम बढेको छ। पारदिपबाट पनि ग्यास आइरहेको छ। त्यहाँबाट नेपालसम्मको दूरी लामो भएकाले ग्यास बजारमा आइपुग्न करिब १० दिनसम्म लाग्ने व्यवसायीहरूको भनाइ छ।

बजारको माग धान्न निगमले ग्यास आयातको मासिक कोटा ५० हजार मेट्रिक टनबाट बढाएर ५५ हजार मेट्रिक टन पुर्‍याएको छ। सामान्य अवस्थामा करिब ४८ हजार मेट्रिक टन ग्यास खपत हुने गरेकोमा अहिले दैनिक १३० देखि १४० वटासम्म बुलेट लोड भइरहेको निगमले जनाएको छ।

टेकुबाट दैनिक १,२५० सिलिन्डरसम्म वितरण

ग्यास अभाव कम गर्न टेकुस्थित डिपोबाट नेपाल ग्यास, सुगम, एभरेस्ट, श्रीराम, सगर ग्यास र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपभोक्तालाई ग्यास वितरण भइरहेको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार टेकुबाट दैनिक ८ सयदेखि १ हजार २५० सिलिन्डरसम्म वितरण भइरहेको छ। निगमका अनुसार सामान्य खपतभन्दा १० देखि १५ प्रतिशत बढी ग्यास आयात भइरहेको भए पनि वितरण प्रणालीमा देखिएका समस्याका कारण उपभोक्ताले तत्काल सहज रूपमा ग्यास पाउन सकेका छैनन्।

एउटै घरका धेरै व्यक्ति लाइनमा बस्ने, एउटै व्यक्तिले दिनमा पटक–पटक ग्यास लैजाने तथा ग्यास ढुवानी गर्ने व्यक्तिले धेरै सिलिन्डर बोक्ने गर्दा वास्तविक उपभोक्ता समस्यामा परेको निगमको भनाइ छ।

कालोबजारी गर्नेलाई कारबाही

ग्यास अभावको फाइदा उठाउँदै कालोबजारी गर्नेहरू सक्रिय भएको गुनासोसमेत निगममा पुगेको छ। पसल बन्द गरेर ग्यास नभएको बताउने तर राति लुकाएर महँगो मूल्यमा बिक्री गर्ने गरेको गुनासो आएपछि निगमले निगरानी बढाएको जनाएको छ।

निगमका प्रवक्ता ठाकुरले कालोबजारी नियन्त्रणका लागि प्रहरीको सहयोगमा अनुगमन तथा छापा मारिने र दोषी भेटिए कडा कारबाही गरिने बताएका छन्।

Loading spinner