२० भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

khabarwave
२३ श्रावण २०८३

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख तथा मझौला नदीमा बहाव सतर्कता तहभन्दा तल रहे पनि विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाले शनिबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीमा जलसतह सामान्य रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।

तर ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक हुँदै बग्ने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र बझाङ आसपासका साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

बहाव अचानक बढ्न सक्ने सम्भावना रहेकाले नदी तथा खोला किनारका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आइतबार र सोमबार पनि कोशी तथा गण्डकी प्रदेश भएर बहने केही साना नदीमा बहाव अचानक बढ्न सक्ने सम्भावना छ।

आगामी केही दिन साना नदी तथा खोलाको तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Loading spinner