राष्ट्रिय उद्योगमा सुधारका संकेत देखिन थाले : प्रधानमन्त्री शाह

khabarwave
२३ श्रावण २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि बन्द रहेका तथा घाटामा सञ्चालन हुँदै आएका राष्ट्रिय उद्योग र सरकारी संस्थानहरूमा सुधारका आशालाग्दा संकेत देखिन थालेको दाबी गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सरकारको निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयका कारण केही राष्ट्रिय उद्योग तथा संस्थान पुनः जीवन्त र प्रतिस्पर्धी बन्न थालेको बताएका हुन्।

‘नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई प्रतिस्पर्धी बनाउन प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही उद्योगमा परिणाम देखिन थालेका छन्।’

उनले विभिन्न राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानको पछिल्लो अवस्था र सरकारले थालेका सुधारका कामबारे तथ्यसहित जानकारी गराएका छन्।

नेपाल औषधि लिमिटेड नाफामा

वर्षौंदेखि घाटामा सञ्चालन हुँदै आएको नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको प्रधानमन्त्री शाहले बताएका छन्।

उनका अनुसार कम्पनीले पछिल्लो चार महिनामा मात्रै २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। चालु आर्थिक वर्षमा भने ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।

सरकारको १०० शासकीय सुधार कार्यसूचीअनुसार आगामी तीन वर्षभित्र ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्यसमेत अघि बढाइएको छ।

चालु आर्थिक वर्षमा ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीको भनाइ छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

उद्योगमा परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। तान (लुम) मर्मत गरेपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादन भइरहेको उनको भनाइ छ।

परीक्षण उत्पादनको परिणामका आधारमा उद्योगलाई सरकारले नै सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ।

नेपाल एयरलाइन्सको आम्दानी बढ्यो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानीमा पनि सुधार आएको प्रधानमन्त्री शाहले दाबी गरेका छन्।

गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

उक्त अवधिमा निगमका जहाजको सिट अकुपेन्सी ८६ प्रतिशत पुगेको प्रधानमन्त्रीले बताएका छन्।

यस्तै, निगमले जहाज खरिदका लागि लिएको ऋणबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरेको छ।

डीडीसीको भुक्तानी चक्र दुई–तीन महिनामा झारियो

दुग्ध विकास संस्थान (डीडीसी) मा लामो समयदेखि रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री शाहले बताएका छन्।

यसअघि किसानलाई दूधको भुक्तानी पाउन करिब आठ महिनासम्म कुर्नुपर्ने अवस्था रहेकामा अहिले त्यसलाई घटाएर दुईदेखि तीन महिनामा झारिएको उनको दाबी छ।

भुक्तानी चक्र छोटिएसँगै डीडीसीको किसानलाई तिर्नुपर्ने बक्यौता रकमसमेत घटेको छ। पहिले करिब ७२ करोड रुपैयाँ रहेको बक्यौता अहिले घटेर करिब ३५ करोड रुपैयाँमा सीमित भएको प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्री शाहले इमान्दारिता, कानुनको कार्यान्वयन र निरन्तरको समन्वय कायम राख्न सके घाटामा रहेका तथा रुग्ण अवस्थामा पुगेका अन्य राष्ट्रिय उद्योग र सरकारी संस्थानलाई समेत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गरेका छन्।

Loading spinner