कांग्रेसमा समानान्तर शक्ति केन्द्र सक्रिय, देउवा समूहले राष्ट्रिय भेला बोलायो
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किँदै गएको छ। पार्टी नेतृत्वसँग सहमतिको प्रयास निष्फल भएको निष्कर्ष निकाल्दै संस्थापन इतर समूहले राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। यससँगै कांग्रेसभित्र समानान्तर राजनीतिक गतिविधि तीव्र बनेको छ।
इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। भेला सफल बनाउन राजनीतिक, समसामयिक, संगठन, विधान मस्यौदालगायत १६ वटा तयारी समिति पनि बनाइएको छ।
नेता मीन विश्वकर्माले चाँडै केन्द्रीय कार्यसमिति बैठक बोलाएर सबै समितिका संयोजक तथा सदस्यहरूको टुंगो लगाइने जानकारी दिए।
‘एकताको प्रयास असफल भएपछि भेला’
भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले पार्टीभित्र एकताको लागि निरन्तर प्रयास गर्दा पनि नेतृत्व तहबाट सकारात्मक भूमिका नदेखिएकाले राष्ट्रिय भेला गर्न बाध्य भएको बताए।
उनले पार्टीभित्र देखिएको अन्योल, कार्यकर्ता र शुभेच्छुकमा बढ्दो निराशा तथा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र धर्म–सांस्कृतिक अवस्थाबारे गम्भीर छलफल गरी स्पष्ट वैचारिक, नीतिगत र संगठनात्मक कार्यदिशा तय गर्ने उद्देश्यले भेला आयोजना गरिएको बताए।
कोइरालाले नेता शेखर कोइरालाले पनि अभियानप्रति समर्थन जनाएको दाबी गर्दै व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताए।
नेतृत्वसँग दूरी बढ्दै
संस्थापन इतर समूहले पार्टी नेतृत्वले विशेष महाधिवेशनलगायतका विषयमा सहमतिको पहल नगरेको आरोप लगाउँदै आएको छ। यता संस्थापन पक्ष भने विधानविपरीतका माग अघि सारिएको र सर्वोच्च अदालतले मान्यता दिएको कार्यसमितिविरुद्ध पुनः अदालत जानु उचित नभएको निष्कर्षमा पुगेको बताइएको छ।
दुवै पक्षबीच संवाद प्रभावकारी हुन नसक्दा कांग्रेसभित्रको शक्ति संघर्ष झन् तीव्र बनेको देखिएको छ। राष्ट्रिय भेलापछि इतर समूहले आफ्नो आगामी राजनीतिक रणनीति र संगठनात्मक कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
