सीसँग भेट सुनिश्चित नभएसम्म चीन नजाने अडानमा रवि

सीसँग भेट सुनिश्चित नभएसम्म चीन नजाने अडानमा रवि

khabarwave
१४ श्रावण २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित भएमा मात्रै चीन भ्रमणमा जाने अडान लिएका छन्। यही कारण उनको प्रस्तावित चीन भ्रमणको मिति अझै टुंगो लाग्न सकेको छैन।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौको पहिलो साता चीन भ्रमण गर्ने तयारीमा रहेका लामिछानेले चिनियाँ पक्षसँग राष्ट्रपति सीसँगको भेटलाई प्राथमिक शर्तका रूपमा राखेको रास्वपा स्रोतले जनाएको छ। उनका अनुसार भारत भ्रमणका क्रममा नयाँदिल्लीमा उच्च राजनीतिक नेतृत्वसँग भएको भेटघाटजस्तै बेइजिङमा पनि उच्च तहको कूटनीतिक भेटघाट हुने अपेक्षा गरिएको छ।

लामिछानेको सभापतिका रूपमा यो पहिलो चीन भ्रमण हुनेछ। उनलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले औपचारिक निमन्त्रणा दिएको हो। यसअघि जुलाईको तेस्रो साताका लागि प्रस्ताव गरिएको भ्रमण राष्ट्रपति सीसँग भेट सुनिश्चित नभएपछि भदौसम्म सारिएको बताइएको छ। स्रोतका अनुसार, सीसँग भेटको सम्भावना नबने भ्रमण पुनः स्थगित हुन सक्ने अवस्था पनि छ।

भारत भ्रमणमा पाँच दिन बिताएका लामिछानेले चीनका लागि सातदिने कार्यक्रम बनाएका छन्। जेठ १९ देखि २३ गतेसम्म भएको भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। साथै, भारतीय जनता पार्टीका नेताहरूसँग पनि उनले छलफल गरेका थिए।

चीन भ्रमणका क्रममा उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँगको भेट लगभग निश्चित रहेको बताइए पनि राष्ट्रपति सीसँग भेट भए कार्यक्रमको स्वरूप परिवर्तन हुन सक्ने जनाइएको छ। भ्रमणको सुरुआत सीपीसीको अन्तर्राष्ट्रिय विभागका प्रमुखसँगको भेटबाट हुने तयारी छ।

चिनियाँ कूटनीतिक अभ्यासअनुसार राष्ट्रपति सीले सामान्यतया राष्ट्राध्यक्ष, सरकार प्रमुख वा विशेष राजकीय हैसियतका व्यक्तिसँग मात्र औपचारिक भेट गर्ने गरेका छन्। यद्यपि, विशेष राजनीतिक सन्दर्भमा विदेशी दलका शीर्ष नेतासँग पनि उनले भेटवार्ता गरेका उदाहरण छन्।

नेपालका सन्दर्भमा तत्कालीन एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०१३ मा पार्टी अध्यक्षकै हैसियतमा राष्ट्रपति सीसँग बेइजिङमा भेट गरेका थिए। त्यसयता नेपाली राजनीतिक दलका शीर्ष नेताले पार्टी प्रमुखका रूपमा राष्ट्रपति सीसँग भेट गरेको उदाहरण दुर्लभ छ।

चीनले कूटनीतिक प्रोटोकललाई अत्यन्त कडाइका साथ पालना गर्ने भएकाले राष्ट्रपति सीसँग भेट हुने वा नहुने विषय टुंगो नलागेसम्म लामिछानेको चीन भ्रमणको मिति पनि निश्चित हुन नसकेको बताइएको छ।

Loading spinner