बिपी स्मृति दिवसमा कांग्रेसका दुई कार्यक्रम

khabarwave
५ श्रावण २०८३

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ४४औँ स्मृति दिवस यसपटक दुई फरक कार्यक्रममार्फत मनाउने भएको छ। संस्थापन र संस्थापनइतर पक्षले छुट्टाछुट्टै कार्यक्रम घोषणा गरेपछि पार्टीभित्रको आन्तरिक मतभेद फेरि सार्वजनिक भएको हो।

सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले ‘ग्रीन रन’सहित विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। युएन पार्कदेखि जावलाखेलसम्म हुने दौडसहितका कार्यक्रममार्फत स्मृति दिवस मनाइने जनाइएको छ।

उता, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। सो कार्यक्रममा राष्ट्रिय भेलाको मिति पनि घोषणा गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

विशेष महाधिवेशनमा सहभागी नभएको देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर समानान्तर गतिविधि अघि बढाइरहेको छ। उक्त समूहले सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको र अब राष्ट्रिय भेलातर्फ केन्द्रित भएको बताइएको छ।

निवर्तमान प्रवक्ता प्रकाशशरण महतका अनुसार साउन ६ गते दिउँसो १२ः३० बजे प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गरिनेछ। नेता मीनबहादुर विश्वकर्माले पनि सोही कार्यक्रममा राष्ट्रिय भेलाको मिति सार्वजनिक गरिने जानकारी दिएका छन्।

देउवा पक्षले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँगै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पनि समेटेर १५औँ महाधिवेशनमा जानुपर्ने माग गर्दै आएको छ। तर सभापति गगन थापाले विधानविपरीत हुने गरी यस्ता माग सम्बोधन गर्न नसकिने स्पष्ट पारिसकेका छन्।

उपसभापति विश्वप्रकाश शर्माले भने बिपी कोइराला सबै कांग्रेसजनका साझा नेता भएको उल्लेख गर्दै जहाँबाट कार्यक्रम आयोजना भए पनि त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

यता, पार्टीभित्र एकता सम्भव नभए नयाँ राजनीतिक विकल्पबारे समेत केही नेताहरूले सार्वजनिक अभिव्यक्ति दिन थालेका बेला बिपी स्मृति दिवसमा हुने छुट्टाछुट्टै कार्यक्रमलाई कांग्रेसभित्रको आन्तरिक शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।

उपचारका लागि हङकङमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवा भने यस वर्षको कार्यक्रममा सहभागी हुने छैनन्।

Loading spinner