मिटरब्याज पीडितको विवरण तत्काल संकलन गर्न गृहमन्त्रीको निर्देशन

khabarwave
३१ असार २०८३

काठमाडौं । जनकपुरबाट न्यायको माग गर्दै पैदल यात्रा गर्दै काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितलाई भेट्न बाराको निजगढ पुगेका गृहमन्त्री सुधन गुरुङले पीडित र पीडक दुवैको विवरण तत्काल संकलन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

मंगलबार निजगढमा पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरी गुनासा सुनेपछि गृहमन्त्री गुरुङले घटनास्थलबाटै विवरण संकलनको प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन्। निर्देशनलगत्तै प्रहरीले मिटरब्याजमा संलग्न व्यक्ति तथा पीडितहरूको विवरण संकलन थालेको छ।

पीडितसँग छलफलका क्रममा गृहमन्त्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गर्दै घटनाको अवस्थाबारे जानकारी गराएका थिए। पीडितका समस्या समाधानका लागि आवश्यक आगामी कदमबारे प्रधानमन्त्रीसँग परामर्श गरिएको उनले बताए।

करिब ६ घण्टासम्म पीडितका गुनासा सुनेका गृहमन्त्री गुरुङसमक्ष अधिकांश पीडितले सुरक्षा निकाय र न्यायालयबाट समेत न्याय नपाएको गुनासो गरेका थिए। त्यसपछि उनले मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आवश्यक कानुन र नियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले पीडितलाई न्याय दिलाउने प्रक्रिया सुरु भइसकेको र विवरण संकलनपछि थप कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने बताए।

गृहमन्त्रीसँगको भेटपछि मिटरब्याज पीडितहरूले मंगलबार पनि निजगढमै बस्ने निर्णय गरेका छन्।

न्यायको माग गर्दै उनीहरू असार २५ गते जनकपुरबाट पैदल यात्रा सुरु गरेका थिए। सोमबार साँझ निजगढ पुगेका पीडितहरूलाई उद्योग वाणिज्य संघको भवनमा बस्ने व्यवस्था मिलाइएको थियो।

यसैबीच, निजगढबाट फर्किएपछि गृहमन्त्री गुरुङले साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टै बैठक गरेका छन्। बैठकमा मिटरब्याजसम्बन्धी मुद्दाको अवस्था, अनुसन्धानको प्रगति तथा सुरक्षा संवेदनशीलताबारे छलफल भएको जनाइएको छ।

Loading spinner