सरकारलाई समर्थन सँगै गलतमा खबरदारी
पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारका एजेन्डामा सरकारलाई आफ्नो पार्टीको समर्थन रहने स्पष्ट पार्दै राजनीतिक स्थिरता कायम राख्नु अहिलेको आवश्यकता भएको बताएका छन्।
आइतबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सरकारका १०० दिन र १०० बुँदे कार्ययोजना’ सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै थापाले जनताले दिएको पाँच वर्षको जनादेशअनुसार सरकारले काम गर्ने वातावरण बन्नुपर्ने धारणा राखे।
प्रधानमन्त्रीको मुख्य जिम्मेवारी सिंहदरबारबाट प्रभावकारी शासकीय सुधार अघि बढाउनु भएको उल्लेख गर्दै उनले त्यसमा निरन्तरता कायम रहोस् भन्ने कांग्रेसको अपेक्षा रहेको बताए।
सरकारका केही कार्यशैलीप्रति पार्टीको असहमति रहेको स्वीकार गर्दै थापाले कांग्रेसले जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
“राजनीतिक स्थिरता तलमाथि नहोस् भनेर हामीले सरकारलाई समर्थन गरेका हौँ। जहाँ प्रश्न गर्नुपर्छ, त्यहाँ प्रश्न गर्छौँ। जहाँ समर्थन गर्नुपर्छ, त्यहाँ समर्थन गर्छौँ,” उनले भने।
विगतमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले पनि बहुमतको सरकार सञ्चालन गरेको स्मरण गराउँदै थापाले बहुमतलाई देश र व्यवस्थाको हितमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।
सरकारले प्राप्त गरेको पाँच वर्षको जनादेशको सम्मान गर्दै त्यसलाई सफल बनाउन आवश्यक सहयोग गर्न कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो।
