खामेनीको अन्त्येष्टिसँगै मध्यपूर्वमा बढ्यो तनाव, इरानको नयाँ सुरक्षा नीति सार्वजनिक
काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि कार्यक्रम शनिबारदेखि सुरु भएको छ। राजधानी तेहरानमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा लाखौं मानिस सहभागी भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
छ दिनसम्म सञ्चालन हुने अन्त्येष्टि कार्यक्रमको पहिलो दिन बिहानैदेखि श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा सर्वसाधारण तेहरानस्थित इमाम खुमेनी ग्रान्ड मुसल्ला मस्जिदमा पुगेका थिए।
फेब्रुअरी २८ को आक्रमणमा खामेनीसँगै ज्यान गुमाएका उनका परिवारका सदस्यहरूको पार्थिव शरीर पनि इरानी राष्ट्रिय झन्डाले ढाकेर श्रद्धाञ्जलीका लागि राखिएको थियो। अन्तिम दर्शनका क्रममा उपस्थित धेरै श्रद्धालु भावुक बनेका थिए।
समारोहका क्रममा सहभागीहरूले ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नारा लगाउँदै विभिन्न विरोध प्रदर्शन गरेका थिए। केहीले बदलाको मागसहितका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
अधिकारीहरूका अनुसार अन्त्येष्टि कार्यक्रममा हालसम्मकै ठूलो जनसहभागिता हुन सक्ने अनुमान गरिएको छ। छ दिनसम्म चल्ने कार्यक्रमभर करिब १ करोड ५० लाखदेखि २ करोड मानिस सहभागी हुने अपेक्षा गरिएको छ।
सरकारी कार्यतालिकाअनुसार जुलाई ६ मा तेहरानबाट अन्तिम यात्रा सुरु हुनेछ। त्यसपछि पार्थिव शरीरलाई क्रमशः जुलाई ७ मा कोम, जुलाई ८ मा इराकका नजफ र कर्बला हुँदै जुलाई ९ मा इरानको मशहदस्थित इमाम रजा दरगाह परिसरमा राजकीय सम्मानका साथ समाधिस्थ गरिने कार्यक्रम रहेको छ।
शिया मुस्लिम समुदायका लागि इमाम रजा दरगाह अत्यन्तै पवित्र धार्मिक स्थल मानिन्छ। आठौं इमाम इमाम रजाको समाधिस्थल रहेको उक्त स्थान शिया समुदायको प्रमुख तीर्थस्थलमध्ये एक हो।
अमेरिका–इरान वार्ता स्थगित
यसैबीच, इरानले अमेरिकासँग जारी अप्रत्यक्ष वार्तालाई तत्कालका लागि स्थगित गरेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकलाई फोर्डो, नतान्ज र इस्फहानस्थित प्रमुख आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति नदिने निर्णय पनि गरेको छ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानवीय आधारमा अन्त्येष्टि सम्पन्न गर्न इरानलाई एक साताको समय दिइएको दाबी गरेका छन्। त्यसपछि इरानले अमेरिकी प्रस्तावमा निर्णय लिनुपर्ने उनको भनाइ छ।
नयाँ नेतृत्वसँगै रणनीतिमा परिवर्तनको संकेत
खामेनीको निधनपछि इरानले आफ्नो सुरक्षा तथा सैन्य रणनीतिमा परिवर्तनको संकेत दिएको छ। नयाँ सर्वोच्च नेता मोजतबा खामेनीको नेतृत्वमा इरानले क्षेत्रीय सुरक्षा नीति थप कडा बनाउने संकेत देखिएको विभिन्न अन्तर्राष्ट्रिय विश्लेषणमा उल्लेख गरिएको छ।
भूराजनीतिक विश्लेषकहरूका अनुसार इरानले अब होर्मुज जलडमरूमध्यलाई आफ्नो रणनीतिक दबाबको प्रमुख माध्यमका रूपमा प्रयोग गर्न सक्ने सम्भावना बढेको छ। ऊर्जा आपूर्तिसँग जोडिएको यस क्षेत्रको अवस्थाले आगामी दिनमा मध्यपूर्वको सुरक्षा र विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
