रास्वपाले पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन टार्‍यो, सभापति रविलाई अधिकार

khabarwave
१८ असार २०८३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पदाधिकारी, केन्द्रीय सदस्य तथा सचिवालयमा कुनै पनि मनोनयन नगर्ने निर्णय गरेको छ। पार्टीले आवश्यकताअनुसार पछि मनोनयन गर्ने जिम्मेवारी सभापति रवि लामिछानेलाई दिएको छ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बुधबार बसेको बैठक मुख्यतः नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यबीच शुभकामना आदानप्रदान र तीन वटा आयोगमा नियुक्ति गर्ने विषयमा केन्द्रित भएकाले मनोनयनको एजेन्डा अघि बढ्न सकेन।

बैठकमा सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ गराउँदै मायाको चिनो वितरण गरेका थिए। ९९ सदस्यीय केन्द्रीय समितिमध्ये ९७ जनाले मात्र शपथ लिएका छन्। निर्वाचन प्रक्रियासम्बन्धी उजुरी परेपछि दुई पदमा शपथ ग्रहण स्थगित गरिएको छ।

सोम शर्मा, पूजा बास्तोला, कृष्णमान श्रेष्ठ र ध्रुव थापा मगरसँग सम्बन्धित विवादमा निर्वाचन आयोगमा उजुरी परेकाले आयोगको निर्णय नआएसम्म उनीहरूको शपथ रोकिएको पार्टीले जनाएको छ।

बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले पहिलो महाधिवेशनले पार्टीलाई थप एकताबद्ध बनाएको उल्लेख गर्दै कुनै गुट वा विभाजनको अवस्था नरहेको दाबी गरे। उनले पदाधिकारी, सचिवालय र मनोनित केन्द्रीय सदस्य चयन गर्दा समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा विभिन्न समुदायको सहभागितालाई प्राथमिकता दिइने बताए।

महाधिवेशन सञ्चालनका क्रममा देखिएका प्राविधिक कठिनाइका कारण समयमै प्रक्रिया सम्पन्न हुन नसकेको स्वीकार गर्दै लामिछानेले पार्टी सदस्यसँग क्षमायाचनासमेत गरेका थिए।

पार्टी स्रोतका अनुसार आगामी केन्द्रीय समिति बैठकमा प्रवक्ता, कोषाध्यक्षसहित बाँकी पदाधिकारी र मनोनित केन्द्रीय सदस्यको टुंगो लगाउने तयारी भइरहेको छ। हाल प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा कसैलाई नदिइएकाले पार्टीका आधिकारिक धारणा महामन्त्री तथा सहमहामन्त्रीहरूले सार्वजनिक गरिरहेका छन्।

यसैबीच, पार्टी एकीकरणमा सहभागी विभिन्न समूह तथा समुदायका प्रतिनिधिले मनोनित पदका लागि आ–आफ्ना नामावली सभापति लामिछानेसमक्ष बुझाएका छन्। विधानअनुसार सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था रहेको छ। ती मनोनयनमा समावेशिता, क्षेत्रीय सन्तुलन र विभिन्न समूहको प्रतिनिधित्वलाई आधार बनाइने रास्वपाले जनाएको छ।

Loading spinner