१८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता नदिन कांग्रेसको निर्देशन

khabarwave
१३ असार २०८३

काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई पार्टी सदस्यता नदिन आफ्ना सबै तहका संगठनलाई निर्देशन दिएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले सार्वजनिक अपिल जारी गर्दै बालबालिकालाई राजनीतिक दलको सदस्य नबनाउन आग्रह गरेको हो।

कांग्रेसले डिजिटल प्रणालीमार्फत नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया सुरु गरेको उल्लेख गर्दै असार २० गतेसम्म इच्छुक व्यक्तिले पार्टीको आधिकारिक पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्ने जनाएको छ। तर, १८ वर्ष उमेर पूरा गरेका व्यक्तिले मात्रै सदस्यता प्राप्त गर्न सक्ने उपसमितिले स्पष्ट पारेको छ।

बाल अधिकार उपसमितिका संयोजक उमंग लोहनीले सदस्यताका लागि १८ वर्षको उमेर सीमा पार्टीको विधान मात्र नभई संविधान र प्रचलित कानुनअनुसार पनि अनिवार्य व्यवस्था भएको बताएका छन्।

कांग्रेसका अनुसार नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले राजनीतिक दलको सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेका छन्। साथै, नेपाल पक्ष राष्ट्र रहेको संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि (यूएनसीआरसी) ले पनि बालबालिकालाई राजनीतिक स्वार्थबाट टाढा राख्दै उनीहरूको संरक्षण, शिक्षा र बालअधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको उल्लेख गरिएको छ।

अपिलमा कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताको पालना गर्नु सत्ता र प्रतिपक्ष दुवैको साझा दायित्व भएको उल्लेख गर्दै बालबालिकालाई पार्टी सदस्य बनाउने कार्यले देशको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।

कांग्रेसले प्रधानमन्त्री आबद्ध दलको सदस्यता विवरणमा संविधान, कानुन र बालअधिकारसम्बन्धी व्यवस्थाविपरीत बालबालिका सदस्य रहेको विषयलाई लिएर असन्तुष्टि पनि जनाएको छ। उक्त विषयमा प्रधानमन्त्रीबाट सार्वजनिक जवाफ र कानुन कार्यान्वयनमा सक्रियता अपेक्षा गरिएको अपिलमा उल्लेख छ।

हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको सदस्यता विवरणमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना सदस्य रहेको तथ्यांक सार्वजनिक भएको थियो।

कांग्रेसले सदस्य संख्या बढाउने प्रतिस्पर्धाका नाममा बालबालिकालाई राजनीतिक दलमा आबद्ध गराउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै संविधान र कानुनको पूर्ण पालना गर्न पार्टीका सबै तहलाई सार्वजनिक रूपमा आह्वान गरेको छ।

Loading spinner