रास्वपा महाधिवेशनका लागि चितवनमा कडा सुरक्षा, चारवटै सुरक्षा निकाय परिचालन
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। आइतबार हुने महाधिवेशनका लागि जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गणेश अर्यालका अनुसार महाधिवेशनमा सहभागी हुने शीर्ष नेतृत्व, विशिष्ट व्यक्तित्व तथा हजारौं कार्यकर्ताको सुरक्षालाई ध्यानमा राखेर विस्तृत सुरक्षा रणनीति तयार गरिएको छ। उनले आवश्यकता अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिने बताए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले महाधिवेशनको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी रहने जानकारी दिए। उनका अनुसार चितवन प्रहरीसँगै बागमती प्रदेश प्रहरी कार्यालयबाट समेत अतिरिक्त जनशक्ति परिचालन गरिनेछ।
ट्राफिक व्यवस्थापन मुख्य चुनौती
सुरक्षा समितिले महाधिवेशनका क्रममा ट्राफिक व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा लिएको छ। विशेषगरी नारायणी पुल क्षेत्र र मुख्य राजमार्गलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार भीड व्यवस्थापन तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक स्थानमा सवारीसाधन डाइभर्ट गरिनेछ। अवस्था अनुसार सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत सुरक्षामा परिचालन गर्न सकिने निर्णय गरिएको छ।
अपेक्षाभन्दा बढी सहभागी हुन सक्ने अनुमान
रास्वपाले महाधिवेशनमा करिब १५ हजार सहभागी हुने अनुमान गरे पनि सुरक्षा निकायले त्योभन्दा बढी संख्या उपस्थित हुन सक्ने आँकलन गर्दै सुरक्षा योजना बनाएको जनाएको छ।
एसपी पौडेलका अनुसार ट्राफिक व्यवस्थापनका लागि विभिन्न सेक्टर निर्धारण गरिएको छ। पूर्वी क्षेत्रबाट आउने सवारी साधनलाई साझा बसपार्कतर्फ र पश्चिमी क्षेत्रबाट आउने सवारी साधनलाई वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवन परिसरमा व्यवस्थापन गर्ने तयारी गरिएको छ। यसबाट मुख्य सडकमा ट्राफिक चाप कम हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीसहित शीर्ष नेतृत्वको सहभागिता
महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरू, सांसदहरू तथा पार्टीका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम छ। यसैबीच कानुनमन्त्री सोविता गौतम, शिक्षामन्त्री सस्मित पोखरेल तथा कृषि तथा पशुपन्छीमन्त्री गीता चौधरी शुक्रबार नै चितवन पुगिसकेका छन्।
सुरक्षा निकायका अनुसार प्रधानमन्त्री शाह आइतबार महाधिवेशन उद्घाटनका लागि चितवन आउने कार्यक्रम रहेको छ। यद्यपि उनको आगमन समय र बसाइको स्थानबारे अन्तिम विवरण सार्वजनिक गरिएको छैन।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक भविष्यसँग जोडेर हेरिएको छ। नेतृत्व चयन, विधान संशोधन तथा संगठन विस्तारका महत्वपूर्ण एजेन्डा रहने महाधिवेशनलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रले कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ।
