कांग्रेसभित्र निरंकुशता बढ्दै, सहमतिविना पार्टी अघि बढ्न नसक्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र निरंकुश प्रवृत्ति बढ्न थालेको आरोप लगाएका छन्। लोकतन्त्र स्थापना र निरंकुश शासनको अन्त्यका लागि स्थापना भएको कांग्रेसभित्रै अहिले असहिष्णुता र दबाबको राजनीति देखिन थालेको उनको भनाइ छ।
कोशी प्रदेशस्तरीय भेलालाई विराटनगरमा सम्बोधन गर्दै कोइरालाले मुलुकको लोकतन्त्र कमजोर बन्दै गएको दाबी गरे। उनले वर्तमान परिस्थितिमा जननायक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको नीति अझ सान्दर्भिक बनेको बताए।
उनले कांग्रेस अब पनि मेलमिलाप, सहमति र एकताको बाटोबाटै अघि बढ्नुपर्ने उल्लेख गर्दै राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र लोकतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।
कोइरालाले पार्टी सभापति गगन थापासँग भएको संवादको प्रसंग उल्लेख गर्दै आफूले उठाएका पाँचवटा विषयमा प्रारम्भिक सहमति बनेको दाबी गरे। तर त्यसपछि सहमतिको प्रक्रिया अगाडि नबढेको भन्दै उनले प्रश्न गरे, “सहमति हुन अब के कुराले रोक्यो ?”
उनले गगन थापा आफ्नै निवासमा आएर पार्टीका केही नेताहरूलाई कारबाहीको चेतावनी दिएको आरोप लगाए। सोही कारण आफूले आफ्ना पाँच बुँदे प्रस्ताव सार्वजनिक गर्न बाध्य भएको उनको भनाइ थियो।
“सहमतिविना कांग्रेस एक कदम पनि अगाडि बढ्न सक्दैन,” उनले भने, “गिरिजाप्रसाद कोइरालाले अवलम्बन गर्नुभएको सहमति, सहकार्य र एकताको मार्ग नै आज पनि उत्तिकै आवश्यक छ। त्यसको सुरुआत आफ्नै पार्टीभित्रबाट हुनुपर्छ।”
कोइरालाले पार्टी एकताको पक्षमा आफू दृढ रहेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा कांग्रेस फुट्न नदिने प्रतिबद्धता समेत व्यक्त गरे।
