राइड सेयरिङ अब करको दायरामा, वार्षिक १ अर्बभन्दा बढी राजस्व उठाउने सरकारको लक्ष्य

khabarwave
२९ जेष्ठ २०८३

काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई औपचारिक रूपमा करको दायरामा ल्याउने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने व्यवस्थाअनुसार राइड सेयरिङमार्फत आम्दानी गर्ने व्यक्तिको आयमा मूल्य अभिवृद्धि कर (भ्याट) र स्रोतमा कर कट्टी (टीडीएस) लाग्ने भएको हो।

आन्तरिक राजस्व विभागका अनुसार नेपालमा राइड सेयरिङ सेवामार्फत वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने गरेको छ। यही कारोबारलाई कर प्रणालीमा समेट्दै सरकारले वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।

नयाँ व्यवस्थाअनुसार राइड सेयरिङ सेवाबाट प्राप्त आम्दानीमा ५ प्रतिशत भ्याट र १ प्रतिशत टीडीएस लाग्नेछ। विभागको अनुमानअनुसार यसबाट करिब १ अर्ब २५ करोड रुपैयाँ भ्याट तथा २३ करोड रुपैयाँ टीडीएस संकलन हुन सक्नेछ।

नेपालमा पछिल्ला वर्षहरूमा राइड सेयरिङ प्लेटफर्महरूको विस्तार तीव्र गतिमा भएको छ। इनड्राइभ, पठाओ, याङ्गो जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्मसँगै हालै उबरले पनि नेपालमा औपचारिक सेवा सुरु गरेको घोषणा गरेको छ। हजारौँ युवाले यस्ता प्लेटफर्ममार्फत पूर्णकालीन वा अतिरिक्त आम्दानी गरिरहेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आर्थिक ऐनमार्फत राइड सेयरिङ व्यवसायलाई करको दायरामा ल्याउने व्यवस्था गरेका हुन्। यसअघि यस्ता सेवाबाट हुने आम्दानीमा प्रत्यक्ष कर लाग्ने व्यवस्था थिएन।

विभागका अनुसार ५ प्रतिशत भ्याट राइड सेयरिङ सेवाबाट उठ्ने कुल रकममा लाग्नेछ भने १ प्रतिशत टीडीएस भ्याट तथा प्लेटफर्मले लिने कमिसन कटाएपछि बाँकी रहने रकममा गणना हुनेछ।

आन्तरिक राजस्व विभागका निर्देशक रमेश पौडेलका अनुसार हाल प्लेटफर्महरूले आफ्नो सेवा शुल्कमा १३ प्रतिशत भ्याट तिर्दै आएका छन्। अब उनीहरूले आफ्नै आम्दानीको भ्याटसँगै राइडरको आम्दानीमा लाग्ने ५ प्रतिशत भ्याट र १ प्रतिशत टीडीएस पनि सरकारलाई बुझाउनुपर्नेछ।

विभागले नयाँ व्यवस्था कार्यान्वयनका लागि राइड सेयरिङ कम्पनीहरूसँग छलफल गर्ने तयारी गरेको जनाएको छ। आवश्यक प्राविधिक प्रणाली विकास तथा अद्यावधिकको काम सम्पन्न गरी साउन १ गतेदेखि नयाँ कर व्यवस्था लागू गरिने विभागको भनाइ छ।

सरकारको यो कदमले डिजिटल अर्थतन्त्रलाई कर प्रणालीभित्र ल्याउने, राजस्वको दायरा विस्तार गर्ने तथा अनौपचारिक कारोबारलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

Loading spinner