अमेरिकी सैनिक हताहती भए मात्र इरानसँगको युद्धविराम अन्त्य गर्ने ट्रम्पको संकेत

khabarwave
२२ जेष्ठ २०८३

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनावबीच अमेरिकी सैनिकको ज्यान गए मात्रै युद्धविराम अन्त्य गर्ने र कडा सैन्य कारबाही अघि बढाउने विचार आफ्ना अधिकारीहरूलाई बताएका छन्।

द वाल स्ट्रिट जर्नलका अनुसार पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाबीच आक्रमण–प्रतिआक्रमण बढेपछि अप्रिलमा भएको युद्धविराम धरापमा परेको छ। यस्तो अवस्थामा ट्रम्पले तत्काल युद्ध चर्काउनेभन्दा पनि सीमित तनाव सहेर परिस्थिति नियाल्ने रणनीति अपनाइरहेको बताइएको छ।

हालको घटनाक्रमअनुसार खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा र कुवेतको अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। त्यसको जवाफमा अमेरिकी सेनाले पनि इरानका विभिन्न लक्ष्यमा आक्रमण गरेको रिपोर्टमा उल्लेख छ।

अमेरिकी सेन्ट्रल कमान्डले इरानबाट प्रहार गरिएका धेरै मिसाइल र ड्रोन खसालिएको र हर्मुज जलडमरूमध्य नजिकका केही स्थानमा ‘आत्मरक्षात्मक आक्रमण’ गरिएको जनाएको छ। साथै, इरानतर्फ गइरहेको एक खाली तेल ट्याङ्करलाई पनि निष्क्रिय बनाइएको दाबी गरिएको छ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (IRGC) ले अमेरिकी कारबाहीको प्रतिकारस्वरूप आक्रमण गरेको जनाएको छ। दुवै पक्षले एकअर्काका सैन्य संरचनामा प्रहार गरेको दाबी गरेका छन्।

अमेरिकाले दक्षिणी इरानका गोरुक सहर र केश्म टापुस्थित राडार तथा कमान्ड सेन्टरहरूमा हवाई आक्रमण गरेको बताइएको छ। जवाफमा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई लक्ष्य बनाएर मिसाइल प्रहार गरेको रिपोर्ट सार्वजनिक भएको छ।

तीन महिनादेखि जारी तनावबीच अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता पनि जारी रहेको जनाइएको छ। तर पछिल्लो चरणमा राष्ट्रपति ट्रम्पले वार्तामा केही बुँदा संशोधन गर्न निर्देशन दिएको बताइएको छ।

विशेषगरी इरानको आणविक कार्यक्रम, उच्च प्रशोधित युरेनियमको भण्डारण तथा स्ट्रेट अफ हर्मुजमा निर्बाध जल यातायात सुनिश्चित गर्ने विषयमा ट्रम्पले थप स्पष्टता माग गरेको स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Loading spinner