नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बस्दै

khabarwave
२१ जेष्ठ २०८३

काठमाडौं। पार्टीभित्र संस्थापन र इतर समूहबीचको आन्तरिक विवाद तीव्र बन्दै गएको अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। पछिल्लो समय पार्टीभित्र गुटगत असन्तुष्टि, अनुशासन उल्लंघनका आरोप र नेतृत्वप्रति सार्वजनिक आलोचना बढ्दै गएपछि बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ।

बैठकमा मुख्यतः विभिन्न निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा परेका पुराना उजुरीहरू तथा हालै दर्ता भएका अनुशासन उल्लंघनसम्बन्धी नयाँ उजुरीहरूमाथि छलफल हुने बताइएको छ।

देशभरबाट आएका उजुरीहरूको वर्गीकरण गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तथा समितिको आगामी कार्ययोजना तय गर्ने विषय पनि एजेन्डामा रहेको छ।

पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र गुटगत विवादका बीच अनुशासन समितिको भूमिकामाथि पटक–पटक प्रश्न उठ्दै आएको छ। केही पक्षले अनुशासनको नाममा राजनीतिक प्रतिशोध साधिएको आरोप लगाइरहेका छन्।

आजको बैठकले लिने निर्णयले कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई मत्थर पार्छ वा थप जटिल बनाउँछ भन्ने कुरा समितिको निर्णय र कार्यान्वयनमा निर्भर रहने देखिन्छ।

Loading spinner