घेराबन्दीमा परेका ओली कसरी फुत्किएलान् ?
काठमाडौं । नेकपा एमालेको आठौं सचिवालय बैठक आइतबार पनि जारी रहने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ः३० बजे बस्ने बैठकमा सचिवालय सदस्यहरूको धारणा राख्ने क्रमलाई निरन्तरता दिइनेछ।
उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा अझै चार जना सचिवहरूको धारणा आउन बाँकी छ। सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो विचार प्रस्तुत गर्न बाँकी रहेको बताइएको छ।
पछिल्लो समय पार्टीभित्र नेतृत्व र संगठनात्मक संरचनाबारे तीव्र बहस चलिरहेका बेला सचिवालय बैठक अध्यक्ष ओलीका लागि चुनौतीपूर्ण बनेको देखिएको छ। ११औं महाधिवेशनपछि बलियो अवस्थामा रहेका ओली अहिले भने पार्टी पुनर्गठनको मागले घेरिएका छन्।
सचिवालयका अधिकांश सदस्यहरूले हालैको निर्वाचनमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको निष्कर्ष निकाल्दै संगठनात्मक पुनर्संरचनाको आवश्यकता औंल्याएका छन्। केही नेताहरूले नेतृत्व परिवर्तनसम्मको बहस अघि सारेका छन् भने कतिपयले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
पार्टीभित्र ओली निकट मानिएका नेताहरू समेत पुनर्गठनको पक्षमा उभिएको चर्चा छ। उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेललगायत नेताहरूले संगठन सुदृढीकरण र पुनर्गठनमा जोड दिएका बताइएको छ।
यद्यपि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतले भने अध्यक्ष ओलीको पक्षमा खुलेर धारणा राखेको नेताहरूको भनाइ छ। उपमहासचिव लेखराज भट्टले पुनर्गठनको बहसलाई उमेरको आधारमा नहेर्न आग्रह गर्दै आवश्यक परे सबै वरिष्ठ नेताले जिम्मेवारी हस्तान्तरण गर्न तयार हुनुपर्ने बताएका छन्।
त्यसैगरी पद्मा अर्याल, रघुवीर महासेठ, यामलाल कँडेल, हिक्मत कार्की र छविलाल विश्वकर्मालगायत नेताहरूले पार्टीको अवस्थाबारे गम्भीर समीक्षा गर्दै आगामी दिशा तय गर्नुपर्ने धारणा राखेका छन्।
आज सम्पन्न हुने सचिवालय बैठकले अध्यक्ष ओलीले प्रस्ताव गरेको कार्यविभाजनलाई आवश्यक संशोधनसहित अन्तिम रूप दिने, निर्वाचन समीक्षासम्बन्धी निष्कर्ष टुंग्याउने तथा संविधान संशोधनका विषयमा कार्यदल गठन गर्ने अपेक्षा गरिएको छ। साथै बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गर्ने निर्णयसमेत गर्न सक्ने बताइएको छ।
