चार उपाध्यक्षद्वारा ओलीलाई मार्गप्रशस्त गर्न आग्रह

khabarwave
९ जेष्ठ २०८३

काठमाडौं । नेकपा (एमाले) को शुक्रबार बसेको सचिवालय बैठक नेतृत्वको विषयलाई लिएर निकै तनावपूर्ण बनेको छ। बैठकमा सहभागी चार उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेपछि छलफल चर्किएको स्रोतले जनाएको छ।

बैठकमा पार्टीका पाँच उपाध्यक्षले धारणा राखेका थिए। तीमध्ये रामबहादुर थापा ‘बादल’ बाहेक विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले जिम्मेवारीबाट अलग हुनुपर्ने धारणा व्यक्त गरेका हुन्।

उनीहरूले पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको अवस्थाबारे नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै नयाँ नेतृत्वमार्फत एमालेलाई पुनः सशक्त बनाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।

स्रोतका अनुसार उपाध्यक्षहरूले एमाले कमजोर बन्दै गएको निष्कर्ष प्रस्तुत गर्दै नेतृत्व परिवर्तन अपरिहार्य भएको तर्क गरेका थिए। तर उपाध्यक्ष थापाले भने अध्यक्ष ओलीको पक्षमा उभिँदै वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तन समाधान नभएको धारणा राखेका थिए।

बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष ओलीले भने राजीनामा नदिने स्पष्ट अडान लिएका छन्। उनले केही नेताहरू पार्टीभित्रको असन्तुष्टिलाई बढाएर विरोधी शक्तिसँग मिलेर संगठनलाई कमजोर बनाउने प्रयासमा लागेको आरोप लगाएको स्रोतको भनाइ छ।

नेतृत्वको विषयमा मतभेद तीव्र बनेपछि बैठकमा केही समय चर्काचर्कीसमेत भएको बताइएको छ। सहमति नजुटेपछि सचिवालय बैठक आजका लागि स्थगित गरिएको छ।

एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस औपचारिक रूपमा सचिवालय तहमा पुगेपछि आगामी बैठकहरू अझ महत्वपूर्ण हुने देखिएको छ। पार्टीभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाबारे अबको निर्णयलाई चासोका साथ हेरिएको छ।

Loading spinner