बादल पहिलो उपाध्यक्ष, विष्णु पौडेल तेस्रो स्थानमा
काठमाडौं । नेकपा एमालेले एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको करिब छ महिनापछि पार्टी पदाधिकारीहरूको वरीयताक्रम निर्धारण गर्ने प्रक्रिया अघि बढाएको छ। अध्यक्ष केपी शर्मा ओलीले सोमबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयतासम्बन्धी प्रस्ताव पेश गरेका हुन्।
अध्यक्ष ओलीले महाधिवेशनपछि हालसम्म पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको औपचारिक वरीयताक्रम निर्धारण नभएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्न प्रस्ताव ल्याइएको बताएका छन्। प्रस्तावअनुसार उपाध्यक्षहरूमा रामबहादुर थापा ‘बादल’लाई पहिलो वरीयतामा राखिएको छ भने विष्णुप्रसाद पौडेल दोस्रो उपाध्यक्षका रूपमा तेस्रो समग्र वरीयता प्राप्त गरेका छन्। पछिल्लो समय पार्टीभित्र नेतृत्व परिवर्तनको बहसमा सक्रिय पौडेललाई दिइएको वरीयतालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
एमाले स्रोतका अनुसार प्रस्तावित वरीयताक्रमलाई आगामी शुक्रबार बस्ने सचिवालय बैठकबाट अनुमोदन गरिनेछ। यससँगै महाधिवेशनपछि लामो समयदेखि टुंगो नलागेको पदाधिकारीहरूको वरीयता निर्धारणको विषय औपचारिक रूपमा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।
प्रस्तावित वरीयताक्रमअनुसार अध्यक्षमा केपी शर्मा ओली यथावत् रहेका छन्। उपाध्यक्षहरूमा क्रमशः रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन्। महासचिवमा शंकर पोखरेल छन् भने उपमहासचिवहरूमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई रहेका छन्।
त्यसैगरी सचिवहरूमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलाई समेटिएको छ।
एमालेले महाधिवेशनपछि पहिलो पटक पदाधिकारीहरूको औपचारिक वरीयताक्रम निर्धारण गर्न लागेको हुँदा यसलाई पार्टीभित्रको शक्ति सन्तुलन र भावी नेतृत्वको संकेतका रूपमा समेत विश्लेषण गर्न थालिएको छ।
