आजबाट हुँदैछ मनोज श्रीमानमाथि केरकार
काठमाडौँ । संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा मनोजकुमार शर्मामाथि मङ्गलबारबाट संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा। शर्माविरुद्ध संकलन भएका उजुरीहरू खोल्ने र सांसदलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार आजै उजुरी खोलेर सबै सांसदलाई वितरण गरिनेछ र त्यसको अध्ययन गरिनेछ । उजुरी वितरण गरिसकेपछि आजै १० बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल गरिने कार्यतालिका छ । उजुरीकर्तासँगको छलफल सकिए लगत्तै प्रस्तावित प्रधानन्यायाधीश डा। शर्मासँग प्रत्यक्ष सुनुवाइ प्रक्रिया अघि बढ्ने सभापति श्रेष्ठले जानकारी दिए । प्रधानन्यायाधीशमा सिफारिस डा। शर्माविरुद्ध संसदीय समितिमा सोमबार कार्यालय समयसम्म १६ वटा उजुरी दर्ता भएका छन् । यसअघि गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । उजुरीको अध्ययन र सुनुवाइ प्रक्रिया सकिएपछि समितिले उनको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनेछ ।
