आणविक ऊर्जा प्लान्टमा ड्राेन हमला
संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको आणविक ऊर्जा प्लान्टलाई लक्षित गर्दै ड्रोन हमला भएको खबर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणपछि क्षेत्रीय सुरक्षा सतर्कता बढाइएको छ।
यसैबीच, साउदी अरेबियाले आफ्नो आकाशमा प्रवेश गरेका तीन वटा ड्रोन खसालेको जनाएको छ। ती ड्रोन संवेदनशील संरचनालाई लक्षित गरी पठाइएको आशंका गरिएको छ।
यूएईको आणविक ऊर्जा केन्द्रमाथि भएको भनिएको आक्रमणपछि मध्यपूर्व क्षेत्रमा फेरि तनाव बढ्ने संकेत देखिएको छ। सुरक्षा निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको बताइएको छ।
हालसम्म हमलाको जिम्मेवारी कसैले लिएको छैन। यद्यपि, पछिल्ला वर्षहरूमा मध्यपूर्व क्षेत्रमा ड्रोन आक्रमणका घटनाहरू बढ्दै गएका छन्, जसले ऊर्जा पूर्वाधार र रणनीतिक संरचनाको सुरक्षामाथि नयाँ चुनौती थपेको छ।
