बेइजिङमा ट्रम्प र सीबीच वार्ता

बेइजिङमा ट्रम्प र सीबीच वार्ता

khabarwave
३१ बैशाख २०८३

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका एकअर्काका प्रतिद्वन्द्वी नभएर साझेदार बन्नुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय वार्ताअघि सीले यस्तो धारणा राखेका हुन् । बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ बाहिररेड कार्पेटमा राष्ट्रपति सी र ट्रम्पले हात मिलाउँदै उच्चस्तरीय वार्ताका लागि प्रवेश गरेका थिए । दुवै नेता आजै साँझ आयोजना हुने विशेष राजकीय भोज मा समेत सहभागी हुने कार्यक्रम छ । दुई महाशक्ति राष्ट्रका प्रमुखबीच हुने यस वार्तामा मुख्यगरी भन्सार महसुल, प्रविधि क्षेत्रको प्रतिस्पर्धा, इरान युद्ध र ताइवान मामिला एजेन्डाका रूपमा रहेका छन् । सन् २०१७ पछि पहिलोपटक चीन भ्रमणमा आएका ट्रम्पसँगै यसपटक अमेरिकी प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पनि बेइजिङ पुगेका छन् । टेस्लाका प्रमुख एलन मस्क र एनभिडियाका जेन्सेन हुवाङ ट्रम्पको टोलीमा सहभागी छन् । बेइजिङ ओर्लिनुअघि ट्रम्पले अमेरिकी उद्योगका लागि चीनले आफ्नो बजार ‘खुला’ गर्नुपर्ने माग राख्ने बताएका थिए । इरान युद्धका कारण गत मार्चका लागि तय भएर पनि रोकिएको यो भ्रमण अहिले विशेष चासोका साथ हेरिएको छ । सन् २०१७ को तुलनामा अहिलेको चीन थप शक्तिशाली र दृढ देखिएको छ, जसले आफूलाई एक स्थिर विश्वव्यापी शक्तिका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ । दुई नेताबीचको यो संवादले विश्व राजनीति र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने अनुमान गरिएको छ ।

Loading spinner