पठाओको जिम्मा अब यशुलाई
काठमाडौं । राइड–सेयरिङ कम्पनी पठाओ नेपालका प्रबन्धनिर्देशकको जिम्मेवारी यशु थकालीले पाएका छन्। यसअघि प्रबन्धनिर्देशकको जिम्मेवारीमा रहेका असीममान सिंह बस्न्यात बाहिरिएपछि कम्पनीले थकालीलाई कम्पनीको ‘कमान्ड’ सुम्पिएको हो। बस्न्यातले २२ वैशाखबाट पठाओको नेतृत्वको जिम्मेवारी छाडेका थिए। सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालमा थकाली सुरुदेखि नै आबद्ध थिए। सुरुमा कम्पनीको फाइनान्स विभागमा काम गरेका थकालीले पछि डेटा साइन्स र सञ्चालन विभागमा रहेर जिम्मेवारी निर्वाह गरे। सन् २०२१ बाट भने कम्पनीले उनलाई फुड बिजनेसको जिम्मेवारी दियो। उनले त्यसलाई सफल नेतृत्व गरेर नाफा कमाउने भर्टिकलको रुपमा स्थापित गरिदिए। त्यसपछि २०२४ मा थकालीलाई बंगलादेशमा पठाओको कार र बाइकको राइड सेयरिङ हेर्ने जिम्मेवारी दिइयो। उनी बंगलादेशमा जाँदा त्यहाँ राइड सेयरिङको ठूलो बजार उबरले लिएको थियो। मैले जिम्मेवारी लिँदा बंगलादेशमा पठाओको उपस्थिति २० प्रतिशत मात्रै थियो। अहिले ५० प्रतिशत पुगेको छ। उबरसँग प्रतिस्पर्धा गरेर बजार हिस्सा बढाउन सफल भयौँ, थकालीले भने। उनै थकालीले अब नेपालमा पनि उबरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। उबरले नेपालमा राइड–सेयरिङ सेवा सञ्चालन गर्ने तयारी थालेको छ।
सन् २०२६ को जनवरीबाट उनले बंगलादेशमै पठाओ फूडको नेतृत्व पाएका थिए। अहिले पनि पठाओ बंगलादेशमा उपभोक्तासम्बन्धी व्यवसायहरूको नेतृत्वको जिम्मेवारीमा थकाली नै छन्। पठाओ नेपालमा व्यवस्थापकीय नेतृत्व खाली भएपछि कम्पनीले उनलाई प्रबन्धनिर्देशकको जिम्मेवारी सुम्पिएको छ। नेपालमा राइड–सेयरिङको प्रतिस्पर्धा चुलिएको बेलामा थकाली पठाओको नेतृत्वमा आएका छन्। त्यति मात्रै होइन, नियामकीय अस्पष्टताले ल्याउने चुनौती पनि उत्तिकै छ। नेपालमा अझै पनि राइड–सेयरिङको अवधारणाले कानुनी मान्यता पाइसकेको छैन। थकाली भने आगामी दिनमा नेपालमा डिजिटल अर्थतन्त्रलाई थप टेवा पुग्ने गरी कम्पनीको उपस्थिति विस्तार गर्ने बताउँछन्। राइड–सेयरिङमा अहिले एकदमै प्रतिस्पर्धा छ। इन्डस्ट्री जति ग्रो गर्नुपर्ने थियो त्यो त दुई वर्ष अगाडि नै हामीले गरिसकेका छौँ। अब आवश्यक रहेको नियमनको कुरा मात्रै हो, उनले भने। नयाँ राइड–सेयर कम्पनीहरु आएर प्रशस्त लगानी गर्दा पनि पठाओको बजार हिस्सामा खासै असर नदेखिएको उनी बताउँछन्। वर्तमान सरकारको प्राथमिकता, विशेषगरी पर्यटन प्रवद्र्धन र ‘डिजिटल नेपाल’ अभियानलाई मध्यनजर गर्दै नयाँ भर्टिकल तथा सम्भावनायुक्त क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अघि बढाएका छौँ, थकाली भन्छन्, यी क्षेत्रहरूमा दीर्घकालीन प्रभाव सिर्जना गर्ने सम्भावना अत्यन्त उच्च रहेको हाम्रो विश्वास छ। त्यसैगरी, डिजिटल अर्थतन्त्रलाई कसरी अझ सशक्त र विस्तार गर्न सकिन्छ भन्ने विषयमा विशेष ध्यान केन्द्रित गरिरहेको उनी बताउँछन्। छौँ। ‘पर्यटन क्षेत्रलाई घरेलु तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित विभिन्न सम्भावनाहरूको अध्ययन र विस्तारमा हामी सक्रिय छौँ। निकट भविष्यमा यससँग सम्बन्धित नयाँ भर्टिकल तथा विशेष फिचरहरू पनि सार्वजनिक गर्ने तयारी छ’, थकालीले भने। बस्न्यातको नेतृत्वमा पठाओले सेवा विस्तारसँगै सहरी जीवनशैलीमै परिवर्तन ल्याउने काम गर्यो। नेपालमा यही कम्पनीले राइड–सेयरिङलाई नेपालीहरुको आदत बनायो। बस्न्यातले नै पठाओ नेपाललाई देशका सातै प्रदेशमा विस्तार गरेका थिए। पठाओको जग बलियो बनाउन थकालीको पनि उत्तिकै भूमिका थियो। अब यसलाई गियरअप गरेर हाँक्ने जिम्मेवारी थकालीको काँधमा आएको छ।
