टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्ने क्रममा चक्कामा आगो लाग्यो
काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । घटनामा सबै यात्रु सुरक्षित रहेका छन्, सिलवालले भने । अहिले रनवे बन्द गरेर विमानलाई ट्याक्सी(वे तर्फ लैजाने प्रयास भइरहेको उनले जानकारी दिए । यसपछि विमानको प्राविधिक जाँच गरिने पनि सिलवालले जानकारी दिए । विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । विमानमा संयुक्त राष्ट्र संघका कूटनीतिज्ञहरु समेत सवार रहेको एसपी सिलवालको भनाई छ । यसअघि २०७१ सालमा पनि टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना भएको थियो । जसमा कुनै मानविय क्षति नभए पनि त्रिभुवन विमानस्थल ४ दिनसम्म बन्द हुन पुगेको थियो ।
