राष्ट्रियताका सवालमा सरकारसँगै काँग्रेस

khabarwave
२७ बैशाख २०८३

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियतासम्बन्धी विषयमा सरकारलाई आफ्नो पार्टीको पूर्ण सहयोग रहने बताएका छन्।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शनिबार धनगढीमा आयोजना गरेको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ भेलालाई सम्बोधन गर्दै उनले शासन प्रणाली, अर्थतन्त्रमा सुधार र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा कांग्रेसले सरकारलाई सहयोग गर्ने स्पष्ट पारे।

तर, राष्ट्रियताको सवालमा कांग्रेसले कुनै पार्टीगत दृष्टिकोण नअपनाउने भन्दै उनले लोकतन्त्रका आधारभूत मूल्यविरुद्ध हुने गतिविधि भने स्वीकार्य नहुने बताए।

उनले लोकतन्त्रमा कानुनी वैधतासँगै नैतिक वैधताको पनि महत्त्व रहने उल्लेख गरे। उनले हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्को निर्णय आफ्नो पक्षमा ल्याउन तत्कालीन उपसभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी भए पनि पर्याप्त संख्या र आधार हुँदाहुँदै पनि कांग्रेसले महाअभियोगको विपक्षमा उभिएको उदाहरण दिए।

सभापति थापाले नेता तथा कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आफ्नो जिम्मेवारीअनुसार संगठन सुदृढीकरणमा लाग्न निर्देशन दिए। साथै, गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने केही नेता कार्यकर्तालाई केही समयका लागि जिम्मेवारीबाट बाहिर राखिने पनि उनले बताए।

उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले नयाँ ऊर्जा र सोचका साथ पार्टीलाई अघि बढाउनुपर्ने समय आएको बताए। उनले कांग्रेसलाई मात्र होइन, समाजलाई समेत समेट्ने साझा संगठन बनाउने आवश्यकता रहेको धारणा राखे।

महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र कुनै प्रकारको पूर्वाग्रह नराखी संगठनलाई एकीकृत र सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले अवसरबाट वञ्चित भएका सक्षम र निष्ठावान कार्यकर्ताको उचित मूल्यांकन गरिने पनि बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले पार्टीमा योगदान गरेका पूर्वसभापति शेरबहादुर देउवालगायत नेताहरूको सम्मानजनक व्यवस्थाका लागि नेतृत्वको ध्यानाकर्षण गराए।

दुईदिने उक्त कार्यक्रममा प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग विभिन्न विषयमा छलफल गरिने जनाइएको छ।

Loading spinner