वाणिज्य बैंकहरूको नाफा ४९.२१ अर्ब पुग्यो
काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालका वाणिज्य बैंकहरूले कुल ४९ अर्ब २१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.२९ प्रतिशतले बढी हो, जसअनुसार करिब ७ अर्ब ९६ करोड रुपैयाँको वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा बैंकहरूले ४१ अर्ब २५ करोड ९ लाख रुपैयाँ नाफा गरेका थिए।
समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १३ वटाको नाफा बढेको छ भने ७ बैंकको नाफा घटेको छ।
नाफा वृद्धिमा सबैभन्दा अगाडि कुमारी बैंक रहेको छ। बैंकको नाफा १ हजार ३६१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले केवल २८ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा १२९.३३ प्रतिशतले बढेर २ अर्ब ७६ करोड रुपैयाँ, हिमालयन बैंकको ५२.४९ प्रतिशतले बढेर ७६ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ५०.४२ प्रतिशतले बढेर १ अर्ब ६५ करोड रुपैयाँ र सानिमा बैंकको ४२.२२ प्रतिशतले बढेर २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।
प्राइम कमर्सियल बैंकले ३८.५७ प्रतिशत वृद्धि गर्दै ३ अर्ब ८ करोड रुपैयाँ, सिटिजन्स बैंकले ३५.८२ प्रतिशत वृद्धि गर्दै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ।
नबिल बैंक भने सबैभन्दा धेरै नाफा गर्ने बैंक बनेको छ। बैंकको नाफा ३३.९१ प्रतिशतले बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा नबिलले ५ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको थियो।
अन्य बैंकहरूमा लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक र नेपाल बैंकको नाफामा पनि वृद्धि देखिएको छ।
तर, समीक्षा अवधिमा ७ बैंकको नाफा घटेको छ। सबैभन्दा ठूलो गिरावट प्रभु बैंकमा देखिएको छ, जसको नाफा ५४.६१ प्रतिशतले घटेर ८५ करोड रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, एनआईएमबी बैंकको नाफा ३०.६८ प्रतिशतले घटेर ३ अर्ब १४ करोड रुपैयाँ, कृषि विकास बैंकको २४.४२ प्रतिशतले घटेर १ अर्ब ३९ करोड रुपैयाँ, र एनआईसी एशिया बैंकको नाफा १०.४९ प्रतिशतले घटेको छ।
एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंकको नाफामा पनि सामान्य गिरावट आएको तथ्याङ्कले देखाएको छ।
