उद्योग मन्त्रालय मातहत ३५ कर्मचारीको सरुवा, सरुवा पत्र कर्मचारीकै टेबुलमा

khabarwave
१७ आश्विन २०७८

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालय र मातहतका गरी ३५ जना कर्मचारीहरुको सरुवा गरेको छ । १ जना उपसचिव (प्राविधिक) को पदस्थापनासँगै आधा दर्जन शाखा अधिकृतहरुको सरुवा गरेको मन्त्रालयले बाँकी अन्य दर्जाका कर्मचारीको सरुवा गरेको हो ।

असोज १५ भित्र कर्मचारी सरुवा गर्न पाइने प्रावधानलाई टेकेर उद्योग मन्त्रालयले शुक्रबार अबेर सरुवाको निर्णय गरेर आइतबार सबेरै सरुवा भएका कर्मचारीहरुको सूचि थमाएको छ । उद्योग मन्त्रालय स्रोतकाअनुसार, उद्योग विभागबाट शाखा अधिकृत रुपेशराज खनाल र अर्जुन राईलाई मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयबाट शाखाअधिकृत कुमारी तारा घिमिरे र आरपी लुइटेल,  र लिलाराज काफ्लेलाई उद्योग विभागमा सरुवा गरिएको छ ।

काफ्ले मन्त्रालयमा कर्मचारी प्रशासन शाखामा कार्यरत थिए । विभागका शाखाअधिकृत सुभाष चापागाईंको सरुवा सामान्यबाट ऊर्जा मन्त्रालयमा भएसँगै सो पद रिक्त रहेको थियो । यसैगरी उद्योग विभागबाट नायव सुब्बाहरु यज्ञराज आचार्य, शुक्र राईलगायतको सरुवा मन्त्रालयमा भएको छ भने मन्त्रालयबाट नायब सुब्बाहरु सन्तोष कोइराला, उदयराज पौडेल, यादव बस्याल, केशवराज मैनालीलाई पठाइएको छ ।

स्रोतकाअनुसार सरुवा हुनेहरुमा कम्प्युटर अपरेटर र कार्यालय सहयोगी समेत परेका छन् । प्राविधिक उपसचिव खगेन्द्र बस्नेतको उद्योग विभागमै पदस्थापना गरेको मन्त्रालयले सरुवा भएका अधिकांशको पत्र आइतबार सबेरै कर्मचारीको टेबुल टेबुलमा पठाइसकेको छ ।

Loading spinner