नेकाको १४ औं महाधिवेशनबाट अपेक्षा

khabarwave
११ असार २०७८

नेपालको राजनीतिक ईतिहांसमा सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही भदौ १६ देखि १९ सम्म हुदैछ।यो पार्टी स्थापनाका कारणले मात्र हैन,यसले अंगीकार गरेको दर्शनले विश्वब्यापी मान्यता पाएको र नेपालमा प्रजातन्त्रको जग बसालेका कारणले पनि यो पार्टीको महाधिवेशनलाई विशेष रूपमा हेर्ने गरिएको छ।त्यसै गरी करीब दुई तिहाई बहुमत ल्याएर सत्तासीन हुन पुगेको कम्युनिष्ट नामधारीको सरकारले जन आकांक्षालाई तूषारापात गरेको हुदा पनि जनताले नेकाको यस अधिवेशनलाई चासोका साथ हेरि रहेका छन्।

२०६२/६३ यता आएर नेपाली कांग्रेस आफ्नो दर्शन र निष्ठाबाट केही पलायन हुन गएको अनुभूति गरिएको छ। प्रजातान्त्रिक समाजवाद, निजीकरण, सनातन देखि मान्दै आएको धार्मिक स्वतन्त्रता, जस्ता राजनीतिक अवधारणालाई जुन तवरबाट अगाडि बढाउनु पर्ने थियो त्यसरी अगाडि नबढाएर त्यस पछिका दिनहरूमा कथित वामपन्थीको अवधारणाको पछि नेकाको नेत्तृत्व लाग्दै गएको अनुभूति हुदैछ।नेकाको वर्तमान नेत्तृत्व देशमा आकाशिदो भ्रष्टाचारको साक्षी भएको अनुभूति गरिदै छ। जनताले पाउनु पर्ने सेवा सुविधाहरू सरल र सहज नभै रहेको सन्दर्भमा नेकाले ठोस कदम चाल्न सकेको पाईएको छैन ।त्यसै गरी समाजमा घटी रहेका आपराधिक घटनाहरूमा कमी ल्याउन नेत्तृत्वबाट खास पहलकदमी उठाएको पनि पाईएको छैन ।

राष्ट्रलाई समस्या पर्दा नेपाली कांग्रेसले सदैव अग्र पंक्तिमा रहेर काम गरेको ईतिहास ताजै छ तर हाल नेपालमा लाल आतंक चलीरहदा समेत संसदमा हाम्रो उपस्थिति कमजोर छ भनेर झारा टार्ने काम नेकाको नेत्तृत्वले गरेको पाईन्छ। संसदमा कमजोर प्रतिपक्षी हुनुमा कसको दोष छ? स्पष्ट छ,पार्टीको वर्तमान नेत्तृत्त्वका कारण यो अवस्थामा नेका पुगेको हो।त्यति खेर एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्ने योजना बुन्दै गर्दा रेणु प्रवृत्तिलाई बोकेर हिड्ने नेत्तृत्त्वका कारण संसदको उपस्थिति यो स्थितिमा पुगेको हो भन्न हिच्किचाउनु पर्दैन। विगतमा आफ्नो पहिचान कायम राख्ने राजनीतिक पथलाई वामपन्थीकरण गरिएका कारणले आज नेकाको यो अबस्था हुन पुगेको हो। आज नेपाली कांग्रेस कमजोर हुदा मुलुकमा प्रजातन्त्र कमजोर हुदै गएको छ। मुलुकमा स्वतन्त्र न्यायालय, संसदीय ब्यबस्था धरापमा पर्दै गएका छन् ,संवैधानिक निकायहरूमा सरकारको हस्तक्षेप र नियन्त्रण हुदै छ ,बहुलवाद र बहुदलीयता क्रमश: सांघुरिदै छ, देश आर्थिक तवरले टाट हुदै छ, सामाजिक र जातीय द्वन्द चर्किने स्थितिमा छन्, अपराधीहरूको राज चलेको छ, विदेश नीति डगमगाएको अवस्थामा छ, खुला रूपमा वैदेशिक हस्तक्षेप बढी रहेको छ।

यसरी देश भित्र विसंगतीहरूको चांग लाग्दै गएको सन्दर्भमा एउटा लोकतान्त्रिक राजनीतिक दलको हुन गै रहेको महाधिवेशनले ठूलो अर्थ राख्छ।यसरी मुलुकमा विसंगती र विकृति बढ्दै जाने र एउटा लोकतान्त्रिक शक्ति कमजोर हुदै जानुले मुलुक ठूलो दुर्घटना पर्न जाने संभावना उत्तिकै छ। यसरी करीव रसातलमा जान लागेको नेकालाई पुनर्जीवन दिने काममा १४ औ अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने आशा गरिन्छ ।यो महाधिवेशनमा त्यस्ता ब्यक्तिको छनौट गर्न सक्नु पर्छ जसले विगत केही समय देखि हराउन पुगेका पार्टीका नीति, दर्शन र आदर्शलाई पुनरोत्थान गर्न सकोस् र संसदीय मूल्य र मान्यतालाई पुन: ब्युताएर मुलुकमा हाल देखा परेको समस्याबाट मुलुकलाई निकास दिन सकोस्। तर यो महाधिवेशनको पूर्व सन्ध्यामा केही प्रतिगामी प्रवृत्ति र पात्रहरूले टाउको उठाउन खोजेको पाईएको छ, यस्ता प्रवत्ति र पात्रलाई नांगे झार पारेर पार्टीको शाखलाई पुनरूत्थान गर्न सके मात्र यो महाधिवेशन सार्थक हुनेछ। समय मै गरिनु पर्ने महाधिवेशनलाई विभिन्न निहुंमा पन्छाउदै लगेको कुरा स्पष्ट छ।

आफ्नो कमजोरीलाई ढाकछोप गर्न महाधिवेशनको तिथीलाई जति धकेल्दै लगे पनि अब धकेल्न मिल्ने ठाऊ छैन।त्यसैले मुलुक र मुलुकवासीको हितका लागि यो महाधिवेशनमा एक सच्चा र निष्ठावान कांग्रेसलाई पार्टीको सभापतिमा जिताएर विगतमा भए गरेका कमी कमजोरी सुधार्ने र मुलुकमा विद्यमान अराजकताको भूमरीबाट पार लगाउने अन्तिम विकल्पको रूपमा यो महाधिवेशन खडा हुन सकोस्। यो हुन गै रहेको महाधिवेशनलाई विषाक्त पारी आफ्नो पक्षमा नतीजा पार्ने दुश्प्रयासहरू नभएका हैनन्। यसरी गरिएका दुश्प्रयासलाई निरर्थक पारी सही नेत्तृत्त्व चयन गर्न हरेक मतदाता सक्षम हुने अपेक्षाका साथ महाधिवेशनको सफलताको कामना।

Loading spinner