महामारीकाबीचमा राजधानी फेरि दुर्गन्धित

khabarwave
२० भाद्र २०७७

काठमाडौं । फोहर व्यवस्थापनको समस्या बल्झिएपछि फेरि राजधानी दुर्गन्धित भएको छ । कोरोना महाकारीका कारण आतंकित बनेका राजधानीवासीलाई फेरि फोहोरको दुर्गन्धले सताउने अवस्था आएको छ । अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको हो । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टूमा पनि अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएपछि लामो समयदेखिको समस्या फेरि बल्झिएको हो। हाल फोहोर व्यवस्थापन गरिरहेकै स्थान वरपर केही समयका लागि स्थानको खोजी भइरहेको छ तर यस विषयमा स्थानीयवासीले भने असहमति जनाएका कारण महानगरपालिका अप्ठ्यारोमा परेको छ । गत असारमा नै सक्ने गरी दीर्घकालीन रुपमा बञ्चरेडाँडामा ल्यान्डफिल साइड निर्माण भइरहेको भए पनि पूर्ण रुपमा काम नहुँदा कमपालाई पुनः समस्या दोहोरिएको हो । कामपासँग अब पहिले नै फोहर थुपारिएको स्थानमा माटोले पुरी तत्कालका लागि फोहर व्यवस्थापन गर्ने वा स्थानीयवासीलाई सहमति गराई अन्य स्थानको खोजी गर्ने विकल्प मात्र रहेको छ ।
मन्त्रिपरिषद्को बैठकले नै उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधार सहितको ल्यान्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको थियो । हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।

Loading spinner