प्रदेश कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम, निवृत्तभरण पाउने उमेरको हद ताेकियाे

khabarwave
२९ माघ २०७७

काठमाण्डाै । केन्द्रमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गर्ने चर्चा चलेपनि त्यसकाे कार्यान्यन नभइरहेकाे अबस्थामा  प्रदेश २ सरकारले भने प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । बुधबार प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ ।

त्यस्तै निवृत्तभरण पाउने अवस्था र उमेरको हद त्रिपन्न वर्ष पूरा भएका प्रदेश निजामती कर्मचारीले प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित शर्तमा स्वेच्छिक अवकाश लिन सक्ने व्यवस्था गरिएको छ । सो ऐनअन्तर्गत  प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख छ ।

प्रदेश निजामती सेवामा आर्थिक, योजना तथा तथ्याङ्क सेवा, इञ्जिनीयरिङ्ग सेवा, कानून सेवा, कृषि सेवा, प्रशासन सेवा, वन सेवा, विविध सेवा, शिक्षा सेवा र स्वास्थ्य सेवाको गठन गरिएको छ ।ऐनमा खुल्ला र अन्तर सेवा प्रतिस्पर्धाको दायरा बढाइएको, जनसङ्ख्याका आधारमा समानुपातिक र समावेशीको सुनिश्चितता गरिएको बताइएकाे छ ।

Loading spinner