सहसचिव सरुवमा लहड र पहुँच, सरुवा भएर फर्किंदै गर्दा बाटैमा अर्को सरुवा, यिनलाई किन खेदिन्छ पटकपटक

khabarwave
५ पुष २०७७

काठमाडौं । सरकारले कर्मचारीलाई यता उता सरुवा गरिरहँदा स्थायी सरकार मानिने कर्मचारीतन्त्रमा पनि अस्थिरता देखिन थालेको छ । सहसचिवहरुको सरुवामा विवेकसम्मत निर्णय नलिँदा र छिटो छिटो सरुवा गरिँदा कार्यसम्पादनमा समेत असर पर्दै आएको छ ।

सरकारले गत हप्ता ११ जना सहसचिवको सरुवा गर्दा सोही रणनीति अपनायो । भर्खरै सूचना तथा सञ्चार मन्त्रालय हुँदै सूचना तथा प्रशारण विभागको महानिर्देशक भएका किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै केही महिनाअघि मात्रै सरुवामा परेका मधुसुदन बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा पुगेका छन् । उनी सहसचिव भएपछि दर्जनौं पटक सरुवमा परिसकेका छन् ।

प्रदेश प्रमुख कार्यालय बागमतीमा रहेका बुर्लाकोटी सोभन्दा अगाडि बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयमा कार्यरत थिए । यसअघि स्वास्थ्य मन्त्रालय, युवा खेलकुद मन्त्रालय, बन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयलगायतमा घुमिसकेका बुर्लाकोटीलाई नेपाल सरकारले फनफनी घुमाइरहनुको कारण के हो ? यथार्थ कारण अहिलेसम्म खुलेको छैन । लहडका आधारमा बुर्लाकोटीको सरुवा भइरहेको छ । केही समयअघि बागमती प्रदेशका प्रमुख सचिव रहेका मानबहादुर बीक पनि त्यस्तै सरुवामा परिरहन्थे ।

उनलाई पछिल्लो समय कर्णाली प्रदेशबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरियो । उद्योग मन्त्रालयमा हाजिर हुन रमना लिएर आउँदै गदा सरकारले तुरुन्तै उनको सरुवा युवा तथा खेलकुद मन्त्रालयमा गरेको थियो । विक त्यही मन्त्रालयमा कार्यरत रहेकै अवस्थामा सचिव पदमा बढुवा भएका थिए । राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको सरुवमा स्पष्ट मापदण्ड छैन, अन्य कर्मचारीको हकमा दुई वर्षको मापदण्ड भए पनि सहसचिव स्तरका कर्मचारीहरुलाई लहड, पहुँच र राजनीतिक पूर्वाग्रहका आधारमा सरुवा गरिँदै आएको छ । पछिल्लो समय मन्त्रिपरिषदको अधिकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिएका कारण सहसचिव सरुवामा अहिले संघीय मामिला मन्त्रालय हावी हुन पुगेको छ ।

अन्य साना तहका कर्मचारीलाई सरुवा गरिएको स्थानमा जानै पर्ने बाध्यता लागू गरेको मन्त्रालयले ठूला तहका कर्मचारीहरुलाई भने आफ्नै मापदण्ड उल्लंघन गर्दा पनि संरक्षण गर्दै आएको छ । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालको सरुवा भएको लामो समयसम्म पनि उनी अर्थमन्त्रालयमै रजगज गरिरहेका छन् । उनको सरुवा कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयमा भएको थियो । तर उनले पहुँचकै आधारमा अर्थमै रजगज गरिरहेका छन् ।

उनी अहिले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको प्रमुखको रुपमा कार्यरत छन् । जबकि त्यही लटमा प्रदेशमा लखेटिएका केही सहसचिवहरुले घरायसी र स्वास्थ्य अवस्था देखाउँदै काठमाडौंमै बस्न खोजे पनि सामान्यले उनीहरुको अनुरोध सुनेको थिएन । काठमाडौंंमै अडिन सकिन्छ कि भनेर पहुँच भिडाए पनि बागमती प्रदेशमा पठाइएका सहसचिव रघुराम विष्ट ढिलो गरी प्रदेशमा हाजिर हुन बाध्य हुनुपर्यो ।

Loading spinner