स्थायी कमिटीकाे बैठकबाटै प्रधानमन्त्रीलाइ एक्ल्याउने र कारबाही प्रक्रिया अघि बढाउने पक्षमा दाहाल -नेपाल पक्षको रणनीति

khabarwave
१ पुष २०७७

काठमाण्डाै । आज नेकपाकाे स्थायी कमिटीकाे बैठक बस्दैछ ।    मंसिर २८ गते दुई अध्यक्षबीच सहमतिको वातावरण बनाउने भन्दै पुस १ गते बुधबारका लागि स्थायी कमिटी बैठक सारिएको थियो। तर यो बीचमा दुई अध्यक्षबीच सहमतिका लागि छलफल हुन सकेन।आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाका नेताहरूले कडा शब्दमा आपत्ति जनाएका छन्।

उनीहरू यो विषयमा स्थायी कमिटी बैठकमा छलफल गर्ने तयारीमा छन्। स्थायी कमिटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहुमत छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन थालेका छन्।प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहालसँग सल्लाह नगरी संवैधानिक परिषद्को बैठक बोलाए। ओलीले पूर्णतः पार्टीलाई पन्छाएर आफूलाई केन्द्रमा राखेको आरोप असन्तुष्ट पक्षले लगाएको छ।

ओलीले सहमतिको पहल गर्नुपर्नेमा उल्टै पार्टीलाई विभाजनको संघारमा धकेल्दै गएकाे र नया कदमले पार्टी संकटमा पर्न थालेपछि दाहाल–नेपाल समूह उनलाई स्थायी कमिटी बैठकबाटै कारबाही प्रक्रिया अघि बढाउने पक्षमा छ। स्राेकाअनुसार दुवै पक्षले आफ्नो पक्षमा बहुमत सांसद रहेको दाबी गरेका छन्।

 

Loading spinner