२३ महिनापछि साझा पार्टी र विवेकशीलबीच  एकीकरण, मिश्र अध्यक्ष र पाण्डे भए संयोजक

khabarwave
२४ मंसिर २०७७

काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार  एकीकरण घोषणा भएको हो । साझा पार्टी र विवेकशील नेपाली दलबीच पुनः एकता भएको छ ।

०७४ साउनमा साझा र विवेकशीलबीचको एकताबाट विवेकशील साझा जन्मिएको थियो ।तर, एकीकरणको १७ महिनामै साझा र विवेकशीलले पुरानै बाटो रोजेका थिए । विभाजनको २३ महिनापछि फेरि एक भएका हुन् ।साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।

एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा’ प्रस्ताव गरिएको छ । विवेकशील साझाले विगत चुनावमा प्रयोग गरेको झन्डा, चुनाव चिह्न नै कायम हुनेछ । कार्यालय पनि बखुन्डोलमै रहने छ । सामाखुसीस्थित विवेकशीलको कार्यालयलाई चाहिँ प्रदेशहरूको सम्पर्क कार्यालयमा रूपान्तरण गर्ने योजना छ ।

पार्टीमा महाधिवेशन नहुन्जेल मूल नेतृत्वमा एक अध्यक्ष र एक संयोजक रहनेछन् । साझा पार्टीका संयोजक मिश्रलाई अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन् । कार्यकारी अधिकार दुवैलाई हुनेछ । एकीकरणपछि दुवै पार्टीका ६५ ,६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन हुनेछ ।

 

Loading spinner